भैरहवा,४ बैशाख। लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गर्दै ठेक्का सम्झौता गर्दा कायम दरभन्दा निर्माण सामग्रीको लागत अत्यधिक बढिसकेको भए पनि त्यसअनुसार भुक्तानी प्रक्रिया अघि नबढेको गुनासो सार्वजनिक गरेको हो । निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा देखिएको गम्भीर संकट समाधानका लागि सरकारले आपत्कालीन अवस्था घोषणा गरी तत्काल मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेका छन् ।
निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धि र आपूर्ति अभावले समग्र निर्माण गतिविधि प्रभावित भएको उनीहरूको भनाइ छ ।
संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले निर्माण क्षेत्रले सामना गरिरहेको समस्याबारे प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए । उनका अनुसार निरन्तरको मूल्यवृद्धिले व्यवसायीहरूमा दबाब बढ्दै गएको छ । उनले निर्माण क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरी राहतका उपाय लागू गर्न, मूल्य समायोजन गर्न तथा सबै ठेक्काको म्याद थप गर्न आवश्यक रहेको बताए । अन्यथा ठेक्का कार्यान्वयनबाट व्यवसायीहरू पछि हट्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।
उनले मूल्य वृद्धि र सामग्री अभावका कारण लागत अस्वाभाविक रूपमा बढेकाले समयमै काम पूरा नभए पनि त्यसलाई आधार बनाएर कारबाही गर्न नहुने धारणा राखे । व्यवसायीका अनुसार पेट्रोलियम पदार्थ, अलकत्रा, सिमेन्ट र फलामे छडजस्ता प्रमुख निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेको छ भने क्रसर उद्योगमा देखिएको समस्या कारण नदीजन्य सामग्रीको आपूर्ति झनै प्रभावित भएको छ ।
व्यवसायीहरूले ठूला परियोजनामा मात्र सीमित रूपमा मूल्य समायोजन हुने तर साना ठेक्कामा विभेद हुने गरेको, स्थानीय तहबाट अनियन्त्रित रूपमा अनुमति वितरण हुँदा गुणस्तरमा असर परेको, सम्पन्न कामको भुक्तानी रोकिएको तथा रकमान्तर प्रक्रिया जटिल बनेको जस्ता समस्या पनि उठाएका छन् ।
संघका अनुसार रुपन्देहीमा हाल करिब ३० अर्ब रुपैयाँ बराबरका विकास आयोजनाहरू सञ्चालनमा छन् । ती आयोजनामा करिब डेढ सय निर्माण व्यवसायी संलग्न छन् भने करिब २० हजार श्रमिक कार्यरत रहेको जनाइएको छ ।












