भूमिकास्थान नगरपालिकाको कक्षा ८ नतिजा निराशाजनक

  • अर्घाखाँची,२५ चैत । जिल्लाको भूमिकास्थान नगरपालिकामा कक्षा ८ को हालै सार्वजनिक नतिजाले शिक्षा क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ।
    नगरपालिकाभरिका विद्यालयहरूको समग्र तथ्यांक अनुसार ४५८ जना विद्यार्थीमध्ये मात्र ९४ जना उत्तीर्ण भएका छन् भने ३६४ जना अनुत्तीर्ण भएका छन्। यस आधारमा उत्तीर्ण प्रतिशत करिब २०।५२५ मात्र देखिएको छ, जुन अत्यन्त कमजोर अवस्था हो।
    नगरपालिकाभित्र रहेका विद्यालयमा नतिजा निराशाजनक देखिएको छ। धेरै विद्यालयमा १०५ भन्दा कम विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने केही विद्यालयमा एकजना पनि उत्तीर्ण हुन नसकेको अवस्था छ। यस्तो अवस्था शिक्षाको गुणस्तरप्रति गम्भीर प्रश्न उठाउने खालको छ।
    भूमिकास्थान नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक रूपमा उल्लेख्य बजेट विनियोजन गर्दै आएको छ। विद्यालय भवन निर्माण, शैक्षिक सामग्री, शिक्षक व्यवस्थापन तथा विभिन्न कार्यक्रमहरूमा लगानी गरिएको छ। तर, यति धेरै लगानी हुँदाहुँदै पनि नतिजा सुधार हुन नसक्नुले “शिक्षामा गरिएको लगानी बालुवामा पानी जस्तै भइरहेको छ” भन्ने आलोचना बलियो बनेको छ।

    स्थानीयका अनुसार यस्तो कमजोर नतिजाका कारणहरूमा शिक्षकको उत्तरदायित्वको अभाव, नियमित अनुगमनमा कमजोरी, विद्यार्थीको सिकाइप्रति घट्दो ध्यान, अभिभावकले छोराछोरीको पढाइप्रति चासो नदिने तथा स्थानीय तहको प्रभावकारी योजना अभाव मुख्य रहेका छन्। नगरपालिकाले शिक्षा सुधारका लागि विभिन्न नीति ल्याए पनि कार्यान्वयन पक्ष फितलो देखिएको आरोप लागिरहेको छ।

    अब भूमिकास्थान नगरपालिकाका लागि चुनौती स्पष्ट भएको छ शिक्षामा गरिएको लगानीको प्रतिफल देखाउने त्यसका लागि शिक्षकको कडाइका साथ मूल्यांकन, विद्यालयको प्रभावकारी अनुगमन, विद्यार्थीकेन्द्रित सिकाइ वातावरण, अभिभावकसँग सहकार्य र परिणाममुखी योजना कार्यान्वयन अनिवार्य देखिन्छ।
    यथास्थिति कायम रहने हो भने, भूमिकास्थान नगरपालिकाको शिक्षा क्षेत्र अझै कमजोर बन्दै जाने र लगानी निरन्तर ‘बालुवामा पानी’ सावित हुने खतरा बढ्दो छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation