विराटनगर २४ चैत । तीन वटा विधेयक पारित गर्दै कोशी प्रदेश सभाको हिउँदे तथा आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन समाप्त गर्न अघि सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष औपचारिक सिफारिस गरेको थियो।
जेन जेड आन्दोलनका क्रममा प्रदेश सभा भवन र सचिवालयमा आगजनी हुँदा बैठक सञ्चालनमा समस्या देखिएको थियो। त्यसपछि माघ २५ गतेदेखि विराटनगरको वीरेन्द्रसभा गृह भाडामा लिएर अधिवेशन आह्वान गरिएको थियो।
दुई महिनासम्म चलेको हिउँदे अधिवेशनले तीन विधेयक पारित गरेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ। अधिवेशनले तीनवटा विधेयक पारित गरेको कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । उनका अनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०६९ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कोशी प्रदेश आम–सञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको हो । सचिवालयका अनुसार प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०६९ संशोधन विधेयक, प्रदेश विधायनसम्बन्धी व्यवस्थाका लागि विधेयक र कोशी प्रदेश आम-सञ्चार व्यवस्थापन विधेयक पारित भएका हुन् । अधिवेशनको ‘शून्य समय’ मा ८३ जना सांसदले बोलेका थिए । ‘विशेष समय’ लिएर १९ जना सांसदले बोलेका थिए ।












