चैत २० देखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

  • काठमाडौँ,१० चैत । नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत २० देखि २२ गतेसम्म आयोजना हुने भएको छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजना हुने तीनदिने मेला ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन् । मेलामा तीन सय महिला उद्यमीले एक सय ४० स्टलमार्फत आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने उनले जानकारी दिइन् । प्रदर्शनीमा हस्तकला, ढाका, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री राखिनेछ। कोशी प्रदेशबाट अल्लो, बाँस तथा प्राकृतिक रेसाजन्य सामग्री, मधेसबाट मिथिला आर्ट, बागमतीबाट डेरी तथा हस्तकला, गण्डकीबाट जडीबुटी तथा ढाका, लुम्बिनीबाट परम्परागत खाद्यवस्तु, कर्णालीबाट राडीपाखी र सुदूरपश्चिमबाट गलैँचा तथा काठका सामग्री प्रदर्शन गरिने आयोजकले जनाएको छ।महासङ्घले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि काम गर्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भनिन्, “यस वर्षको मेलामा देशभरका ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीहरूलाई पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।”मेलामा करिब रु दुई करोड बराबरको कारोबार हुने तथा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान रहेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation