गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा कर्मचारी तथा सुरक्षा निकायलाई सम्मानित

  • काठमाडौँ ,९ चैत । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् ।
    मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रशंसा पत्र प्रदान गरेका छन् ।यस्तै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि उनले सम्मान गरेका छन्। मन्त्री अर्यालले निर्वाचनमा खटिने सबै कर्मचारी र सुरक्षाकर्मीलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् । उनले शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न गरेर नयाँ मानक स्थापित गरिएको बताए । गृहमन्त्री अर्यालले भने, “निर्वाचन ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ । यो पटकको निर्वाचनमा रक्तपात भएन र पुनः निर्वाचन गर्नुपरेन । सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ । आगामी दिनमा पनि यसलाई कायम राख्न जरुरी छ ।”

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation