खाडी क्षेत्रको हवाई प्रतिबन्धका कारण ३१ अन्तर्राष्ट्रिय उडान रद्द

  • काठमाडौं,१८ फागुन । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती देशतर्फ हुने अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। विमानस्थल प्रशासनका अनुसार खाडी मुलुकतर्फ जाने र त्यहाँबाट काठमाडौँ आउने नियमित उडानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका हुन्। हवाई क्षेत्र बन्द भएपछि पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने उडानहरू रोक्नुपरेको जनाइएको छ। यसअघि शनिबार र आइतबार गरी दुई दिनमा ४१ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए। प्रारम्भिक विवरणअनुसार ती उडानहरू प्रभावित हुँदा करिब ६ हजार ८ सय यात्रु समस्यामा परेका थिए।
    यसबाट जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडानहरू प्रभावित भएका छन्। कुवेत-काठमाडौँ–कुवेत, शारजाह-काठमाडौँ-शारजाह, अबुधाबी-काठमाडौँ-अबुधाबी, दुबई-काठमाडौँ-दुबई तथा दोहा-काठमाडौँ-दोहा मार्गमा सञ्चालन हुने सेवा स्थगित गरिएको छ।
    ।विमानस्थल कार्यालयले प्रभावित यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क राख्न तथा उडानबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ । साथै हवाई व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation