काठमाडौं,१७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।पोखराको लिचीबारी जग्गा घुस प्रकरणमा मुछिएकी श्रेष्ठलाई विशेष अदालतले ५ लाख रुपैंया धरौटीमा छाडेको थियो । अख्तियारले भने उनलाई धरौटीमा छाड्ने विशेष अदालतको निर्णय बदर गरेर थुनामै राख्नुपर्ने माग गरेको हो । अख्तियारले उनी र पूर्वमन्त्री राजकुमार गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो ।
अख्तियारले रन्जिता श्रेष्ठसमेत संलग्न रहेको यस भ्रष्टाचार मुद्दामा ७८ लाख रुपैयाँ बिगो कायम गरी २०८२ असोज २२ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।












