भैरहवा,१६ फागुन । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । चुनावी प्रचारप्रसारको क्रममा शनिबार मायादेवीको वडा नं. ७ र ८ मा पुग्नुभएका घिमिरेले किसानले हाल भोगिरहेका समस्या समाधानलाई आफूले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । कृषि क्षेत्रको समग्र सुधारबिना स्थानीय अर्थतन्त्र बलियो बन्न नसक्ने उहाँको भनाइ छ । घरदैलोका क्रममा किसानसँग प्रत्यक्ष संवाद गर्दै उहाँले मलखाद, गुणस्तरीय बीउबिजन, भरपर्दो सिँचाइ सुविधा, बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य नपाउँदा किसानले वर्षौंदेखि समस्या भोग्दै आएको उल्लेख गर्नुभयो । “किसानले दुःख गरेर उत्पादन गरेको बालीले लागतसमेत उठाउन नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो, “राज्यले समयमै मल उपलब्ध गराउने, आधुनिक प्रविधि विस्तारमा सहजीकरण गर्ने र बजार सुनिश्चित गर्ने नीति ल्याउनुपर्छ ।” घरदैलोका क्रममा स्थानीय किसानहरूले मल र सिँचाइ सुविधाको अभाव र बिचौलियाको चलखेलका कारण आफूहरू मारमा परेको गुनासो गरेका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै घिमिरेले आफू निर्वाचित भएमा सबै कृषि उपजको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न, स्थानीय स्तरमा चिस्यान केन्द्र स्थापना गर्न तथा कृषि सुलभ कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । उहाँले कृषि उत्पादनलाई बजारीकरणसँग जोड्दै स्थानीय स्तरमै प्रशोधन उद्योग स्थापना गर्नुपर्ने धारणा पनि राख्नुभयो । “कृषिलाई सम्मानजनक पेशा बनाउने वातावरण तयार नगरेसम्म युवाहरू विदेशिन रोकिँदैनन्,” उहाँले भन्नुभयो । घरदैलो कार्यक्रममा स्थानीय पार्टी कार्यकर्ता, युवा तथा किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो ।












