देवदह, १५ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले जनजाती, मुस्लिम र भुमिपुत्रहरुको अधिकार र समावेशिताको पक्षमा आफुले काम गर्ने बताउनु भएको छ । जनजाती, मस्लिम तथा भुमिपुत्रहरुले गर्दा मुलुकको रक्षा भएकाले उनीहरुको अधिकारलाई सुनिश्चित गर्ने र अधिकार स्थापित गराउने कुरामा आफ्नो पहल जारी रहने बताउनुभयो । रुपन्देहीको क्षेत्रनम्बर एकमा विभिन्न जातजाती, भाषा, संस्कृतीको बसोबास रहेकाले सबैको पहिचानका आधारमा अधिकार स्थापित गराउनु नै अहिलेको आवश्यक रहेको उहाँले बताउनुभयो । शुक्रबार रुपन्देहीको देवदह नगरपालिकाको वडानम्बर ११ र १२ मा घरदैलोका क्रममा आफ्ना भनाई राख्दै उहाँले यस क्षेत्रको कृषि उत्पादन र विकासमा भुमिपुत्रहरुको महत्वपुर्ण भुमिका रहेको चर्चा गर्नुभयो । उहाँले जनजातीसँगै, थारु, चौधरी, यादवलगायतका समुदायले भुमिको रक्षा गरेको र कृषि उत्पादनलाई बृद्धि गर्दै आएको स्मरण गर्दै कृषिको बजारीकरण, भण्डारण, उन्नतविउ विजन र कृषिमा सहज अनुदानका कार्यक्रमहरु ल्याएर भुमिपुत्रहरुलाई राहत दिने काममा आफुले योजनावद्ध तरिकाले काम गर्ने बताउनुभयो । क्षेत्रनम्बर एकका विभिन्न स्थामा घरदैलो तथा सुझाव संकलन गर्दै हिड्नु भएका उम्मेद्वार खत्रीले सबैको जातीय पहिचान, समावेशिता र संस्कृतिको रक्षाकालागि राज्यले सहि नीति ल्याउनु पर्ने उल्लेख गर्दै जनजाती, मुस्लिम, भुमिपुत्र र सबै भाषाभाषीहरुको अधिकार र पहिचानकालागि सबै खाले पहल थाल्ने उहाँले आश्वासन दिनुभयो । घरदैलो अभियानमा देवदह नगर सभापति गुनाखर भुर्तेल, महासमिति सदस्य सरिता चौधरी, जिल्ला सचिव हरिप्रसाद काफ्ले, सहसचिव बासुदेव रिमाललगायतले बदलिएको कांग्रेसलेनै मुलुकलाई बदल्ने भएकाले रुख चिन्हमा मतदान गरेर बहुमतको सरकार बनाउन सहयोग गर्ने आग्रह गर्नु भएको प्रचारप्रचार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । घरदैलो कार्यक्रम अन्तरगत उम्मेद्वार खत्रीले क्षेत्रनम्बर एकका तिलोत्तमा, ओमसतिया, रोहिणी र देवदहका विभिन्न वडामा घरदैलो र जनभेटघाटलाई जारी राख्नु भएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो ।












