काठमाडौँ,१३ फागुन। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् । साविक माओवादी केन्द्रबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ (२)बाट प्रदेश सभा सदस्यमा २० हजार १ सय ६० मतसहित निर्वाचित शर्मा २७ पुस २०७९ देखि २१ चैत २०८० सम्म कर्णालीको मुख्यमन्त्री बनेका थिए । कर्णाली प्रदेशसभा सचिवालयले बुधबार प्रदेशसभा सदस्य पदबाट हटाइएको सूचना सार्वजनिक गरेपछि शर्माले सांसदको पद गुमाएका हुन् ।पछिल्लो समय माओवादी केन्द्रसहित समायोजन भएर नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएपछि उनी सो पार्टीमा गएका थिएनन् । शर्मा दाजु जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा सक्रिय भएका थिए । आफ्नो पार्टी छाडेर प्रलोपामा लागेपछि शर्मालाई पदबाट हटाउन नेकपाले कर्णाली प्रदेश संसद सचिवालयलाई पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा प्रदेशसभा सचिवालयल निर्णय लिएर उनी सांसद पदमा नरहेको जानकारी दिएको छ ।
अब ४० सदस्यीय कर्णाली प्रदेशसभा ३९ सांसदमा झरेको छ । शर्माको पद गुमेपछि रिक्त रहन गएको रुकुम पश्चिमको प्रदेश सभा निर्वाचन क्षेत्रमा उप निर्वाचन हुने संवैधानिक व्यवस्था छ ।












