बुटवल, १३ फागुन । रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदाताको घरदैलोमा पुग्दा आफ्ना प्रतिस्पर्धी उम्मेदवारका विरुद्ध कुनै आरोप लगाउने गरेका छैनन् । उल्टै मतदातालाई भेट्दा भन्ने गरेका छन– ‘अंकलहरुले नगरेका काम हामी गर्छौ ।’
चुनावको बेला नेताहरुले मतदाताका अगाडी एकले अर्कोलाई खुइँल्याउन कुनै कसर बाँकी राख्दैनन् । भएका, नभएका दुबै आरोप लगाउँछन । तर विश्वदीप भिन्नरुपले प्रस्तुत भईरहेका छन । सैद्धान्तिक कुरामा दलहरुसंग उनको असहमति भएपनि चुनाव प्रचारका क्रममा प्रतिस्पर्धी उम्मेदवारलाई कुनै आरोप नलगाई उच्च राजनैतिक संस्कार देखाएका छन ।
मतदातालाई भेट्दा उनले आफ्ना चुनावी ऐजेण्डा बताउँछन । तर मतदाताको मन यति कुडिएको देखिन्छ की, उनीहरु कसैले उम्मेदवारको कुरा सकभर सुन्न चाँहदैनन् । बिगतका निर्वाचनमा यस क्षेत्रका उम्मेदवारहरुले देखाएको विकास र समस्या समाधानको आशामाथि तुषारापात हुँदा अहिले पहिलोपटक उम्मेदवार बनेका नयाँहरुलाई भोट माग्न केही कठिन परेको छ । तर पुरानाभन्दा नयाँलाई केही अनुकूल छ ।
‘मतदातालाई सबै उस्तै हुन भन्ने परेको छ । चुनावमा अनेक लोभ देखाउने र त्यसपछि फर्केर गाँउ नआउने समस्याले यस्तो भएको हो ।’ नेपाली कम्युनिष्ट पार्टीबाट तारा चुनाव चिन्ह लिएर घरदैलोमा व्यस्त रहेका विश्वदीपले मतदाताहरुसंग भने– ‘अंकलहरुले गरेका गल्तिको जवाफदेही जस्तो बन्नु परेको छ । आक्रोश स्वभाविक पनि छ । मैले तपाईहरुको मनोविज्ञान बुझेको छु । धोका नहुने गरी काम गर्नेछु ।’
उनले घरदैलोका क्रममा मतदाताका गुनासा, जिज्ञासा र आशालाई नजिकबाट अध्ययन गर्दै आएका छन । र, आफ्नो क्षेत्रका टोल–टोलमा सम्बोधन गर्दै भन्ने गरेका छन– ‘अब तपाईहरुको दुःख सुखमा साथ दिन युवा पुस्ता आएका छौ । अंकलहरुले हिजो जे–जे गल्ती कमजोरी गर्नुभो, अब त्यसको सट्टा तपाईको छोरा नाती सरहको मैले काम गर्नेछु ।’
जेनजी बिद्रोहकै कारण हुन लागेको निर्वाचन तोकिएकै मिति यहीं २१ गते हुँदैछ । तर यसपटक मत माग्ने शैलीमा धेरै परिवर्तन छ । केही अपवाद बाहेक विगतको आलोचन गर्नुभन्दा आफूले गर्ने कामका बूँदा ९ऐजेण्डा०बोकेर उम्मेदवारहरु मतदाताका घरदैलोमा पुगेका छन । नयाँ उम्मेदवारलाई पुराना उम्मेदवारभन्दा मत माग्न अनूकुल भएकैले नयाँ उम्मेदवार भने उत्साहित छन ।
विगतका कमजोरीले देश थाकीसकेको बताउँदै रुपन्देही– २ का उम्मेदवार विश्वदीपले अब थाकेको युवा शक्तिलाई अहिलेको निर्वाचनले उर्जा भर्नुपर्ने बताए । ‘अब देशलाई थाक्न दिनु हुँदैन । युवाले सम्हाल्नु पर्दछ । मतदाता पनि डरमा, लोभमा नपरेर ढुक्कसंग मतदान गर्नुपर्दछ ।’– उनले भने ।












