देवदह, १३ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसकोतर्फ देखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले ढल निकास, डुवान र नदी कटानका समस्यालाई सम्बोधन गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ । रुपन्देही क्षेत्रनम्बर एकको तल्लो क्षेत्रमा डुवान र नदीकटानको समस्या वर्षेनी हुने गरेको उल्लेख गर्दै उहाँले त्यसको उचित ब्यवस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । रुपन्देही क्षेत्रनम्बर एकको देवदह नगरपालिका वडानम्बर–१ र २ का विभिन्न स्थानको बुधबार घरदैलो गर्दै उहाँले यस क्षेत्रमा देखिने रोहिणी नदिको कटान तथा ढल निकास नहुँदा वर्षे भेलका कारण पर्ने डुवानको समस्यालाई सम्बोधन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले ढलको राम्रो ब्यवस्थापन नहुँदा बस्तिमा हुने डुवान र नदी कटानकाकारण आमनागरिकको खेतियोग्य जमिन कटानको जोखिममा पर्ने गरेको उल्लेख गर्दै उहाँले कटानको जोखिम रहेका क्षेत्रमा तटवन्धको ब्यवस्था गर्ने बताउनुभयो । उहाँले आफु चुनिएर गएपछि भविष्यमा संसद विकास कोषबाट भएपनि उचित बजेटको ब्यवस्था गरेर नदिकटानको समस्यालाई सम्वोधन र तटवन्धको उचित ब्यवस्था गर्ने बताउनुभयो । घरदैलो र जभेटघाटमै ब्यस्त रहनु भएका खत्रीले प्रत्यक्ष जीवनसँग सरोकार राख्ने र दैनिक जीवनसँग जोडिएका विषयहरुलाई मतदाताले उठाँउदै आएको र मुलुकमा सुधारको आवश्यक रहेको सुझाव दिएको खत्रीले बताउनुभयो । उहाँले मुलुकमा सुशासन र पारदर्शीलाई जोड दिदै दीगो विकास लक्ष्यलाई पुरा गर्ने गरि काम गर्नु पर्ने बताउनुभयो । कृषि, पर्यटन र रोजगारीका कुराहरुलाई प्राथमिकता साथ उठाउनु पर्ने आम नागरिकको सुझाव रहेकाले ति विषयलाई उम्मेद्वार खत्रीले खाका बनाएर संकलन गरेर भविष्यमा सरकारको ध्यानाकर्षण गराउने गरि मतदातालाई आश्वस्त पार्नु भएको क्षेत्रीय सचिव तथा प्रचारप्रचार संयोजक विजय गुरुङले जानकारी दिनुभयो ।












