सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

  • बुटवल,९ फागुन ।नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पौडेलले सैनामैना वडा नं। १ र ४ का विभिन्न टोलमा शनिबार आयोजित चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पार्नुभयो।
    उहाँले हालसम्म सम्पन्न भएका विकास निर्माणका कामको सूची र पारदर्शितालाई आधार मानेर मूल्यांकन गर्न आग्रह गर्दै राजनीतिलाई विकास र समाजसेवाको माध्यमका रूपमा प्रयोग गर्दै आएको उल्लेख गर्नुभयो। सैनामैनाको बुद्धकालीन तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्दै यसलाई सांस्कृतिक सहरका रूपमा स्थापित गर्ने, अव्यवस्थित बसोबास, सुकुम्बासी र भूमिहीनका समस्या समाधानका लागि पहल गर्ने तथा दिगो विकासका योजनाहरू कार्यान्वयनमा ल्याउने उहाँको भनाइ थियो।
    सडक, कल्भर्ट, नाली तथा ढल निकासको स्तरोन्नति, सामुदायिक भवन तथा विद्यालयमा प्रयोगशाला विस्तार, नगर अस्पताल सञ्चालन, लामीरह बहुउद्देश्यीय जलाशय बाँध, सैनामैना चक्रपथ र मेजर रोडको पूर्णता लगायतका पूर्वाधार विकासका कामलाई उच्च प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।
    कार्यक्रममा अन्य नेताहरूले पनि एमाले नेतृत्वमा भएका विकासका उपलब्धिहरूलाई आधार बनाएर मतदातासँग समर्थनको अपिल गरेका थिए। सो अवसरमा नेकपा परित्याग गरी एमालेमा प्रवेश गरेका सैनामैना–४ का दलित अगुवा कुमार नेपालीले पौडेललाई रुपन्देहीको मुटुका रूपमा प्रशंसा गर्दै विकासको निरन्तरताका लागि समर्थन जनाए। धनकुमारी बुढाथोकीले पनि पार्टी प्रवेश गर्दै सकारात्मक सोच र स्थिर विकासका पक्षमा उभिन आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले समृद्ध सैनामैना निर्माणका लागि योजनाबद्ध, पारदर्शी र दिगो विकासको अभियानलाई अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका थिए।
    पौडेलले शुक्रबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको थियो । प्रतिवद्धता पत्रमा यो क्षेत्रमा भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउँदै रुपन्देहीलाई देशकै अग्रणी जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता पौडेलले व्यक्त गर्नुभएको छ । बोलेर होइन, गरेर देखाउने नीति लिएको उल्लेख गर्दै उहाँले गर्न सकिने, अघि बढिसकेका र परिणाम दिने योजना मात्र समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको बताउनुभयो ।
    यसअघि सुरु भएका योजना पूरा गर्नेसँगै प्रतिबद्धता पत्रमा कालीगण्डकी–तिनाउ नदी डाइभर्सन बहुउद्देश्यीय आयोजना, बुटवल–पोखरा सडक स्तरोन्नति गरी यात्रा समय दुई घण्टामा झार्ने योजना, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण, एकीकृत सहरी पूर्वाधार विकास, ग्रेटर लुम्बिनी परियोजना, कृषि थोक बजार केन्द्र, चुरे संरक्षणका नमुना आयोजना, हिल स्टेशन विकास, भूमि तथा सुकुम्वासी समस्याको दीर्घकालीन समाधान र विद्युत् तथा सञ्चार तार भूमिगत व्यवस्थापनजस्ता योजना समेटिएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation