रुपन्देही,८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शान्ति, स्थिरता र विकासको पक्षमा देशलाई सही दिशामा अघि बढाउन हरेक नागरिक दृढतापूर्वक उभिन आवश्यक रहेको बताउनुभएको छ ।
अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान राष्ट्रिय परिस्थितिमा सुझबुझपूर्ण निर्णय र जिम्मेवारीबोध अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।‘मुलुकको परिस्थिति यहाँहरूले राम्रोसँग नियाल्नुभएको छ । सुझबुझपूर्ण निर्णय र जिम्मेवारीको खाँचो छ,’उहाँले भन्नुभयो,‘जिल्लाको मात्रै होइन, समग्र लुम्बिनी प्रदेशको विकासका लागि हरेक नागरिकको जिम्मेवारपूर्ण भूमिका आवश्यक छ ।’
उहाँले ‘हाम्रो प्यारो अर्घाखाँची, हाम्रो जन्मभूमि’ भन्ने नारालाई व्यवहारमा उतार्न आग्रह गर्दै जन्मभूमिको विकास र समृद्धिका लागि सबैको योगदान जरुरी रहेको बताउनुभयो । अहिले गाउँसम्म विकासका पूर्वाधार पुगे पनि बसाइँसराइका कारण गाउँ खाली बन्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।‘गाउँमा विकास पुगेको छ । तर, घरहरूमा ताला लाग्न थालेका छन् । विद्यालय छन् । तर, विद्यार्थी घट्दैछन् । स्वास्थ्य चौकी पुगेको छ । बाटो पुगेको छ । तर, बसाइँसराइले गाउँ चपेटामा परेको छ,’ उहाँले भन्नुभयो,‘गाउँको दिगो विकासका लागि यहाँहरूको महत्वपूर्ण भूमिका रहन्छ ।’
कार्यक्रम अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनी पन्थी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद पाण्डे, निवर्तमान अध्यक्ष दधिराम खनाललगायतले पनि मन्तव्य राख्नुभएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्ण राना भाटले गर्नुभएको थियो । कार्यक्रममा अर्घाखाँचीबाट पोखरामा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले जन्मभूमिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।












