बुटवल, ६ फागुन । नेकपा एमालेका युवा नेता ठाकुर गैरेले पाल्पाली जनताको हित र पाल्पाको विकासका लागि निःस्वार्थ भावनाका साथ आफू सधै समर्पित रहने बताएका छन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका नेता गैरेले आफू संसदमा रहदा होस् या प्रतिपक्षमा बस्दा होस् पाल्पा क्षेत्र नं. २ लगायत समग्र पाल्पाको विकासका लागि निरन्तर समर्पित भएर लाग्ने बताए ।
रुपन्देही निर्वाचन परिचालन सम्पर्क कमिटीद्वारा आयोजित मतदाता भेटघाट तथा उम्मेदवारसंग प्रत्यक्ष अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै नेता गैरेले उपस्थित मतदातामाझ पाल्पाको समग्र शिक्षा, स्वास्थ्य, कृषि, भौतिकलगायत विकासका पूर्वाधार निर्माणमा र यस अघि आफ्नो कार्यकालमा निर्माण चरणमा रहेका योजनाहरुलाई पूरा गर्नका लागि पनि पाल्पाली जनताले सूर्यचिन्हमा मत दिएर आफूलाई विजयी बनाउन आग्रह गरे ।
उनले यही आउँदो आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ्गमार्गबाट सर्वसाधारणले सुरक्षितरुपमा यात्रा गर्न पाउँने बताउँदै हार्थोक छहरा मोटरबाटो निर्माणको लागि बजेट सुनिश्चित भईसकेकोले आर्थिक वर्षमा निर्माण सुरु गरिने बताए । उनले रिडीदेखि रानीमहलसम्मको बाटो पिच भैसकेको र राम्दीदेखि रानीमहलको लागि १ अर्ब ४८ करोड बजेट विनियोजन भएर युद्धस्तरमा काम भईरहेको बताए । उनले तानसेनको खानेपानी समस्या समाधान , भगवती मन्दिर निर्माण, ब्लड बैंक निर्माण, विद्यालय क्षेत्र तथा पर्यटकीय क्षेत्र र कुसुमखोला, पालुङ्ग मैनादी, पेलाबास, अमलाबास र छहरा सुन्तला सुन्तला करिडोर निर्माणका लागि महत्वपूर्ण काम भइरहेको भन्दै जेनजी आन्दोलनपछि उक्त काम रोकिएकोमा त्यसलाई पूर्णता दिन पनि नेकपा एमालेले जित हासिल गर्नुपर्ने बताए ।
कार्यक्रममा पाल्पा क्षेत्र नं. २ बाट समानुपातिक उम्मेदवारद्वय ठानेश्वर बस्याल र रोजिरन खातुन, संविधान सभा सदस्य नारायणी शर्मा, पार्टी पाल्पा क्षेत्र नं. २ का अनुगमन तथा निर्देशन कमिटीका संयोजक धनेन्द्रराज घिमिरेलगायतले मन्तव्य राख्दै पाल्पामा जन्मेर बुटवललाई कर्मथलो बनाएका सम्पूर्ण मतदाताहरुलाई आफ्नो अमूल्य मत सूर्यचिन्हमा दिन आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा युवा नेता बाबुराम बोहोराले स्वागत मन्तव्य दिदै जिविको पार्जनका लागि पाल्पाबाट बुटवल आएरर पनि विभिन्न तहबाट पार्टीलाई साथ र सहयोग रहेको भन्दै जन्मभूमि फर्कन चाहने उद्योगी व्यवसायीलाई सिद्धबाबा सुरुङ्गमार्ग निर्माण भएसंगै छोटो दूरीले सहज पुग्ने बताउँदै त्यसका लागि एमालेलाई बिजयी बनाउन आग्रह गरे । रुपन्देही निर्वाचन परिचालन सम्पर्क कमिटीका संयोजक रामचन्द्र बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहसंयोजक पारसमणि पोखरेलले सञ्चालन गरेका थिए । ।












