कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न उपभापति शर्माको आग्रह

  • भैरहवा,२९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै शर्माले जेनजीको भावना बुझ्दै र आन्दोलनको मर्मलाई आत्मसात गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरू सुध्रिएको बताए । जेनजी आन्दोलनको मर्म र भावना अनुरुप काँग्रेसमा आएको परिवर्तनका कारण प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आफ्नै उम्मेदवार उठाएको उनको भनाई थियो ।
    उनले कांग्रेस पुनः देशको नेतृत्व गर्ने गरी बहुमततर्फ अग्रसर भइरहेको बताए। “जित्नु काँग्रेसका लागि नौलो कुरा होइन, हार्नु पनि नौलो होइन। तर यो निर्वाचन विशेष र गम्भीर छ,” उनले भने।शर्माले २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै किन हुनुपर्‍यो भन्ने प्रश्न उठाउँदै ७४ जनाको ज्यान जाने घटना, सिंहदरबार र संसद् भवनमा भएको आगलागी तथा अर्बौँको क्षतिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।
    पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी निर्वाचनमा कांग्रेसको बहुमत आवश्यक रहेको बताए। उनले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवारलाई जिताउन आग्रह गरे। काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालन पनि काँग्रेसकै नेतृत्वमा सम्भव हुने बताए।
    रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शुशिल गरुड्ले कांग्रेस बदलिएको र अब देश बदल्न आवश्यक रहेको बताए। देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा उनले जोड दिए।
    कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ पछि कांग्रेस नेतृत्वको सरकार बनेमा मात्रै जेनजी पुस्ताका माग सम्बोधन गर्न सकिने बताए। संविधानको रक्षा र स्थायित्वका लागि काँग्रेस नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
    कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही लगायतले मन्तव्य राखेका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation