जुम्ला,२७ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने बताएकी छन् । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न मंगलबार जुम्ला पुगेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताएकी हुन् । उनका अनुसार कठिन भूगोल र सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसनधानका क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा गरेको काम महत्त्वपूर्ण रहेको छ । बजेट अभावले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र सेवा सुधार रोकिन नहुने उनको भनाइ छ ।
कर्णालीको सम्भावना बुझ्नका लागि जुम्ला आएको मन्त्री गौतमको भनाइ छ । बजेट अभावकै कारण प्रतिष्ठानको चेरे चौरमा निर्माण भइरहेको बहुउद्देश्यीय परियोजनाका भवनले पूर्णताः नपाएको समस्या रहेकाले एकै चोटी अर्बका हिसाबले बजेट दिन सम्भव नभएको हुँदा वार्षिक बजेटमा प्राथमिकता दिइने स्वास्थ्यमन्त्री गौतलले बताइन्।स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागि परेको उनले बताइन् । प्रतिष्ठानको गुणस्तरीय स्वास्थ्य सेवालाई थप विस्तार गर्न मन्त्रालयले आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले जानकारी दिए।












