पाल्पा,२६ माघ । रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीको आयोजनामा पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँ–१ स्थित श्री मग्रानदेवी प्राथमिक विद्यालयमा झोला, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्लबका अध्यक्ष युवराज आर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त विद्यालयमा अध्ययनरत सबै ५४ जना विद्यार्थीहरूलाई झोला, कापी, पेन्सिल, इरेजर, शार्पनर, ज्यामिति बक्स तथा ट्र्याकसुट लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। चिसो मौसम तथा विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष युवराज आर्यालले यस्ता सेवामूलक परियोजनाहरूले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक सहयोग पुग्ने र समुदायमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले उक्त परियोजना अत्यन्तै लाभदायी रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रभावकारी सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का एडीआरआर तथा क्लबका पूर्वअध्यक्ष लक्ष्मण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय समुदायले विद्यार्थीहरूको हितका लागि गरिएको यस पहलप्रति रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीलाई धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रम सेवाभाव, सहकार्य र सामुदायिक एकताका साथ सफलतापूर्वक सम्पन्न भएको थियो।












