भैरहवा,२५ माघ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले निर्वाचन प्रचारप्रसार कार्यालय खोल्ने र मतदाता भेटघाटलाई तिव्रता दिएको छ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा काँग्रेले रणनीतिक रुपमा प्रचारप्रसारलाई अगाडि बढाएको हो ।यो क्षेत्रबाट काँग्रेसले युवा नेता सुशील गुरुङलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट खारिएका गुरुङको उम्मेदवारीले काँग्रेस क्षेत्रमा झन बलियो बनेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले बताए । उनका अनुसार क्षेत्रमा भिजेको, यही क्षेत्रका हरेक सामाजिक काममा सक्रिय र आमनागरिकको दुःखसुखमा सँगै हिंडेको उम्मेदवार भएकाले गुरुङप्रति आममतदाताको आशा–अपेक्षा बढी छ ।
‘काँग्रेस बदलिएको छ, अब देश बदल्ने संकल्प लिएको छ । यसैले होला हामीले मतदाता भेटघाट गर्दा राम्रो साथसहयोग पाइराखेका छौं’, काँग्रेस उम्मेदवार गुरुङले भने, ‘संविधा, लोकतन्त्र र विधिको शासन स्थापित गर्ने पार्टी काँग्रेस नै हो । क्षेत्रगत विकासलाई हामीले सधैं ध्यानमा दिएर काम गरेका छौं । यही भएर सबैले आशा गर्नुभएको छ ।’
क्षेत्रीय सचिव भट्टराईका अनुसार ११ वटा वडामा अहिलेसम्म प्रचारप्रसार कार्यालय स्थापना भइसकेको छ । बाँकी वडाहरुमा पनि केही दिनभित्रै कार्यालय स्थापना गरिने छ । ‘युवा, पढेलेखेको, समाजमा भिजेको र नेतृत्व गरेकोले पनि हाम्रो उम्मेदवारलाई अन्य पार्टीले जस्तै चिनाइराख्नु पर्ने अवस्था छैन’, भट्टराई भन्छन्, ‘तर, पनि हामीले हरेक मतदाता भेटघाट गर्ने कोसिस गरिरहेका छौं ।’
उनले काँग्रेसले विगतमा रुपन्देहीको विकासमा गरेको योगदान स्मरण गर्नुपर्नेमा जोड दिए । ‘अधुरा योजना पूरा गर्न र नयाँ योजना भित्र्याउन पनि काँग्रेसले जित्न जरुरी छ’, भट्टराईले भने, ‘यसैले हाम्रो बाचा र प्रतिबद्धता मतदातालाई बुझाइराखेका छौं ।’ उनले काँग्रेस एकढिक्का रहेको, संगठन बलियो भएको र परिवर्तित अवस्थालाई आत्मसाथ गरेकाले पनि जित निकाल्ने विश्वास रहेको जनाए । (पब्लिक कुराबाट)












