।
बुटवल ,१८ माघ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, रिजन ५ अन्तर्गत क्लब प्रशासनसम्बन्धी सेसन देवदह मेडिकल कलेज, भलुहीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सेसनको अध्यक्षता एडिआरआर रो. लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको अवधारणा तथा व्यवस्थापन डिआरआर एड रो. सुबिन खड्काले गर्नुभएको थियो। कार्यक्रमको औपचारिक सुरुवात जोन १८ का जेडआरआर रो. डा. आबिश्कार पराजुली को स्वागत मन्तव्य तथा वार्म-अप सत्रबाट भएको थियो, जसले सहभागीहरूबीच सिकाइमैत्री तथा अन्तरक्रियात्मक वातावरण सिर्जना गरेको थियो।
कार्यक्रमको पहिलो सत्रमा डिआरआर एड रो. सुबिन खड्काले प्रभावकारी माइन्युट लेखनका तरिका तथा रोट्रयाक्ट मिटिङको व्यवहारिक प्रदर्शनमार्फत सहभागीहरूलाई आवश्यक ज्ञान प्रदान गर्नुभयो। दोस्रो सत्रमा कोषाध्यक्ष रो. अनुप पाण्डेले क्लब बाइलजको महत्वबारे प्रकाश पार्दै संरचित, पारदर्शी तथा दीगो क्लब सञ्चालनमा बाइलजको भूमिकाबारे विस्तृत छलफल गर्नुभयो। तेस्रो सत्रमा डिस्ट्रिक्ट अफिसरहरू रो. सुदिप पौडेल र रो. युकेश मान ज्ञवालिले रोट्रयाक्ट नेपाल र रोटरी इन्टरनेशनलको आधिकारिक रिपोर्टिङ प्रणाली, अनलाइन प्लेटफर्म, रिपोर्टिङ प्रक्रिया, समयसीमा र डिस्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अनुपालनसम्बन्धी स्पष्ट मार्गदर्शन प्रदान गर्नुभयो।
यसै क्रममा रो. सुदिप पौडेल द्वारा सञ्चालन गरिएको अन्तरक्रियात्मक आइस–ब्रेकिङ सत्रले सहभागीहरूको सक्रिय सहभागिता बढाएको थियो। कार्यक्रममा एडिएस रो. प्रकाश खनाल तथा डिस्ट्रिक्ट अफिसर रो. राजु प्रसाद भुर्तेलको गरिमामय उपस्थिति रहेको थियो। विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष, अध्यक्ष–निर्वाचित, बोर्ड सदस्य तथा क्लब सदस्यहरू गरी करिब ७० जनाको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको समापन रोट्रयाक्ट क्लब अफ देवदह मेडिकल कलेजका अध्यक्ष रो. अभिषेक ढकालको धन्यवाद ज्ञापन मन्तव्य तथा एडिआरआर रो. लक्ष्मण श्रेष्ठ को समापन मन्तव्यसँगै सम्पन्न भएको थियो।
समग्रमा, उक्त क्लब प्रशासन सम्बन्धी सेसनले सहभागीहरूलाई प्रशासन, दस्तावेजीकरण तथा रिपोर्टिङसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै रोट्रयाक्ट क्लबहरूको शासन प्रणालीलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्।












