बुटवल ,१७ माघ । रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा २०८२ माघ १७ गते श्री प्रगति माध्यमिक विद्यालय, बुटवल–११ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजित उक्त शिविरमा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा. लि. को प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको थियो।
विगत २३ वर्षदेखि समुदाय सेवामा सक्रिय रोट्र्याक्ट क्लब अफ बुटवल साउथले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता स्वास्थ्य तथा सेवा–मूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। सोही अभियानको निरन्तरताका रूपमा आयोजना गरिएको यस शिविरमा विभिन्न रोगसम्बन्धी स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो।
स्वास्थ्य शिविरमा डा. किशोरमान श्रेष्ठ (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा. द्वारिका प्रधान (फिजिसियन), डा. सरस्वती श्रेष्ठ (स्त्री तथा प्रसूति रोग विशेषज्ञ), डा. टी.के. जोन सिंह (न्यूरो सर्जन) तथा डा. अर्जुन सुवेदी (मेडिकल अफिसर) ले सेवा प्रदान गर्नुभएको थियो।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष श्री रामचन्द्र खनाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै रो. सञ्जय भण्डारी कार्यक्रम संयोजकका रूपमा रहनुभएको थियो भने स्वास्थ्य शिविरसम्बन्धी सम्पूर्ण जानकारी रोट्र्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष रो. इपल भण्डारीद्वारा प्रदान गरिएको हो। शिविर अवधिभर ३०० भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको आयोजकले जनाएको छ।
आयोजक क्लबले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागीप्रति धन्यवाद व्यक्त गरेको छ।













