रामपुरकाे पर्यटन प्रवर्द्धनका लागि विचार गाेष्ठी

  • पाल्पा,१६ माघ। रामपुरकाे समग्र विकासका लागि पर्यटन नै मुख्य आधार रहेकाे गाेष्ठीका सहभागीहरुले बताए । गाेष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष दलबहादुर गुरुङ, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरे र साेही समितिका प्रमुख कार्यकारी अघिकृत अनन्तराज सिलवालले “रामपुरकाे समृद्धिका लागि पर्यटन र यसका आधार” विषयमा आधारपत्र पेश गरेका थिए । उक्त आधारपत्रमा रामपुरकाे समृद्धिका लागि पर्यटन र पर्यटन विकासका लागि उद्यान, कृषि, प्रकृति र संस्कृति रहेकाे हुँदा साेही अनुसारकाे एकीकृत पर्यटन नीति, याेजना र कार्यक्रमका साथै गुरुयाेजनामा जाेड दिनुपर्ने उल्लेख गरिएकाे छ । रामपुरलाई रेष्टप्लेसका रुपमा विकास गर्न पालिकाले रामपुरभित्र रहेका पर्यटनसँग सराेकार राख्ने संघसंस्थाहरुकाे सञ्जाल गठन गर्नुपर्नेमा जाेड दिईएकाे छ ।
    साे गाेष्ठीका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले साधन,स्राेत सम्पन्न रामपुरलाई पर्यटकीय गन्तव्य बनाउँदै अघि बढिरहेकाे बताए । पर्यटनलाई नै मूलआधार बनाउन सक्दा रामपुरक्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने उनकाे तर्क थियाे । उक्त गाेष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय सदस्य सागर देवकाेटाले पर्यटन विकासकाे खास आधार उद्यान भएकाे हुँदा एक वडा एक उद्यानलाई कार्यान्वयन गर्नुपर्ने बताए । रामपुरमा थुप्रै पर्यटकीय गन्तव्य भएता पनि साेचेजति विकास हुन नसकेकाे उनकाे गुनासाे थियाे ।
    गाेष्ठीमा फणिश्वर ढकाल,पुरुषाेत्तम ढकाल,हुमनाथ न्याैपाने,हरिनाथ ढुंगानालगायतले रामपुरलाई पर्यटनकाे हब बनाउनुपर्नेमा जाेड दिए । सहभागीहरुले गाेष्ठी फलदायी रहेकाे र कार्यान्वयनमा रामपुर नगरपालिकाकाे दायित्व र भूमिका अभिभावकीय रहनू पर्नेमा जाेड दिएका थिए ।
    रामपुर नगरपालिका वडा नं.६ का वडाध्यक्ष दिवाकर देवकाेटाकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे आयाेजना तालपाेखरा संरक्षण समितिले र समन्वय नेपाल उद्यान महासंघले गरेकाे थियाे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation