अख्तियारद्धारा भरतपुर महानगरका वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौँ ,१३ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध गैरकानुनी रुपमा ६ करोड ७८ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
    आयोगले आचार्यको सेवा प्रवेश गरेको मिति २०४८ माघ ६ देखि २०८० असार ६ गतेसम्मको अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरेको थियो। अनुसन्धानका क्रममा आचार्य र उनको परिवारको वैध आय ३ करोड ५१ लाख ४ हजार २१० रुपैयाँ मात्र देखिएको थियो। तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने अस्वाभाविक रूपमा उच्च अर्थात् १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ पाइएको छ।आयोगले आचार्यको वैध आयको तुलनामा ६ करोड ७८ लाख ९५ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको उल्लेख छ। सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको उक्त रकम उनले घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमा, तथा छोराछोरीको उच्च शिक्षामा खर्च गरेको पाइएको छ। साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा शेयर लगानी र मौज्दातसमेत भेटिएको छ। आचार्यले भ्रष्टाचारबाट कमाएको सम्पत्ति लुकाउन श्रीमती लिली सुवेदीको नाममा जग्गा तथा अन्य सम्पत्तिहरू जोडेको अनुसन्धानबाट खुलेको अख्तिायरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
    अख्तियारले आचार्यलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत हुन मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । uVY7KT

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation