तिलोत्तमा राइडर्स क्लबको नेतृत्व परिवर्तन, शंकर मल्ल अध्यक्ष चयन

  • तिलोत्तमा,११ माघ । तिलोत्तमा नगरपालिकामा क्रियाशील साइकल राइडर्सहरूको साझा संस्था तिलोत्तमा राइडर्स क्लबले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाका अध्यक्ष अर्जुन गुरुङ वैदेशिक रोजगारीका लागि बेलायत प्रस्थान गर्ने भएपछि उनले दिएको राजीनामा शनिबार बसेको पूर्ण बैठकले स्वीकृत गर्दै शंकर मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
    नवगठित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन केबी कार्की, सचिवमा सुवास थापा, सहसचिवमा अनुराग गुरुङ तथा कोषाध्यक्षमा दीपक भट्टराई चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा कपिल गुरुङ, कृष्ण खड्का, अनिल भट्ट र चेतन बस्नेत रहेका छन् । यसैगरी संस्थाको वरिष्ठ सल्लाहकारमा सुरज पंगेनी, प्रेस सल्लाहकारमा टिआर शर्मा र सल्लाहकारमा सन्तोष केसीलाई मनोनयन गरिएको छ ।
    पूर्ण बैठकले संस्थापक अध्यक्ष अर्जुन गुरुङले संस्था स्थापनादेखि हालसम्म पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गर्नुका साथै उहाँको वैदेशिक यात्राको सफलताको कामना गरेको सचिव सुवास थापाले जानकारी दिए । तिलोत्तमा राइडर्स क्लब तिलोत्तमा नगरपालिकाको पहिलो साइकल राइडर्सहरूको संगठित संस्था हो। क्लबले स्थानीय सरकारसँगको सहकार्यमा पहिलो तिलोत्तमा कोरा सम्पन्न गर्नुका साथै वृक्षारोपण र सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
    साइकल राइडको प्रवर्द्धनमार्फत नगरवासीलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै तिलोत्तमाका धार्मिक तथा पर्यटकीय स्थलको पर्यटन प्रवर्द्धनमा समेत क्लबले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation