श्री खड्ग माध्यमिक विद्यालयमा सरस्वती पूजन तथा अक्षराम्भ कार्यक्रम सम्पन्न

  • देवदह,१० माघ । रुपन्देहीको श्री खड्ग माध्यमिक विद्यालय, देवदह–१, विर्ता, रुपन्देहीमा सरस्वती पूजन एवं अक्षराम्भ कार्यक्रम भव्य एवं सफल रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति (बि.ब्य.स.) का अध्यक्ष श्री सुवास अग्रहरीज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक अभिभावक संघका अध्यक्ष श्री सुरज गुप्ताज्यूले व्यक्त गर्नुभएको थियो।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री बाबुराम बस्नेतज्यू, बि.ब्य.स. सदस्यहरू, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरू, सम्पूर्ण शिक्षक स्टाफ, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण बि.ब्य.स. सदस्यहरू एवं शिक्षक स्टाफज्यूहरूले गर्नुभएको थियो।
    कार्यक्रमको मुख्य आकर्षणस्वरूप १५ जना बालबालिकालाई विधिपूर्वक अक्षराम्भ गराइएको थियो। शिक्षा, ज्ञान र संस्कृतिकी अधिष्ठात्री देवी सरस्वतीको पूजन गर्दै बालबालिकाको शैक्षिक यात्राको शुभारम्भ गरिनु कार्यक्रमको महत्वपूर्ण पक्ष रह्यो।
    यस अवसरमा वक्ताहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
    कार्यक्रमले विद्यालयको शैक्षिक तथा सांस्कृतिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation