मोबाइल एप्लिकेसन ‘ग्लोबल पे’ सार्वजनिक

  • मस्कट ओमान ,८ माघ । ओमानको अग्रणी मुद्रा विनिमय कम्पनी ग्लोबल मनी एक्सचेन्ज कम्पनी एलएलसीले डिजिटल भुक्तानी समाधानतर्फ महत्वपूर्ण फड्को मार्दै कोम्भीभा द्वारा सञ्चालित नयाँ मोबाइल एप्लिकेसन ‘ग्लोबल पे’ सार्वजनिक गरेको छ ।
    ओमानको राष्ट्रिय डिजिटल रूपान्तरण दृष्टिकोणसँग मेल खाने यो एपले सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले डिजिटल रूपान्तरण समाधानमा विश्वव्यापी रूपमा स्थापित संस्था कोम्भीभा सँग साझेदारी गरेको हो । कोम्भीभा टेक महिन्द्रा समूहको सहायक कम्पनी हो ।
    एप्लिकेसन सार्वजनीक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शेख सुलेमान अब्दुलमलिक अब्दुल्लाह अल खलीलीले ग्लोबल पे एपले स्थानीय तथा अन्तर्राष्ट्रिय भुक्तानी कारोबारलाई सुरक्षित र प्रभावकारी बनाउने बताए । उनले एप पिसिआई–डिएसएस प्रमाणित रहेको उल्लेख गर्दै भुक्तानी तथा डेटा सुरक्षामा उच्चतम मापदण्ड अपनाइएको स्पष्ट पारे । उनले यो एप ओमानी नागरिक र प्रवासी समुदायबीच व्यापक रूपमा प्रयोग हुने हाम्रो विश्वास व्यक्त गरे ।
    प्रमुख कार्यकारी अधिकृत राजेश चण्डिरमणिल डिजिटल रूपान्तरण यात्रामा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले ग्लोबल पेले वित्तीय समावेशीकरण प्रवद्र्धन गर्ने विश्वस्तरीय डिजिटल अनुभव प्रदान गर्दै मध्यपूर्वका वित्तीय संस्थाहरूलाई सशक्त बनाउने प्रतिबद्धता गरे । प्रबन्ध निर्देशक सुब्रोमोनियान के. एस. ले बैंक खाता नभए पनि प्रयोगकर्ताले उपयोगिता बिल तथा शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । साथै क्यूआर कोडमार्फत ओमानका कुनै पनि बैंक वा सेवा प्रदायकका ग्राहकबाट भुक्तानी स्वीकार गर्न सकिने भएकाले पूर्ण अन्तरसञ्चालनशील भुक्तानी प्रणाली सुनिश्चित भएको उनले बताए ।
    महाप्रबन्धक सोनम दोर्जे ले ग्लोबल पे एपलाई प्रभावकारी ग्राहक सेवा प्रणालीले समर्थन गर्ने जानकारी दिए । ग्राहकहरूले ओमानभर रहेका शाखा वा समर्पित हेल्पलाइनमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।
    कार्यकारी सल्लाहकार मधुसूदनन आर.ले ओमानमा भुक्तानी सेवा प्रदायक (पिएसपि) इजाजतपत्र प्राप्त गर्ने पहिलो मुद्रा विनिमय कम्पनी भएको उल्लेख गर्दै यस पहलले सल्तनतको नगदरहित अर्थतन्त्र निर्माणको लक्ष्यलाई बलियो साथ दिने बताए । उनले भविष्यमा ग्लोबल पे अन्तर्गत थप सुविधा चरणबद्ध रूपमा विस्तार गरिने पनि जानकारी दिए ।
    पत्रकार सम्मेलनमा शेख अहमद अब्दुलमलिक अब्दुल्लाह अल खलीली, शेख अज्जान अब्दुलमलिक अब्दुल्लाह अल खलीली, कम्पनीका वरिष्ठ अधिकारीहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation