व्यापार संघमा पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन

  • बुटवल, ४ माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले आफुसंग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा आइतबार संघमा आबद्ध पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको भेला सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न उक्त भेलाले निरज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन गरेको छ । उपसमितिको सह–संयोजकमा चिरञ्जीवी अधिकारी, सचिवमा शारदा ज्ञवाली, कोषाध्यक्ष वरुण घिमिरे, सह–सचिव राजु भारी र सदस्यहरुमा हरि अर्याल, शिवप्रसाद बस्याल, समिर पराजुली, साबु कार्की, गौरी रेग्मी, अस्मिता काफ्ले रहनुभएको छ ।
    भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका द्वितिय उपाध्यक्ष मनहरि बस्यालले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगी बन्न आग्रह गर्नु भयो । उहाँले रुपन्देही व्यापार संघ आम व्यापारी व्यावसायीको आशा र भरोसाको केन्द्र समेत भएकोले व्यावसायी समस्याको समाधानमा एकजुट भएर लाग्न आग्रह समेत गर्नुभयो ।
    यस्तै कार्यक्रममा संघका महासचिव प्रकाश पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपाल, कार्यसमिति सदस्य धर्मदत्त ज्ञवालीलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो । पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमितिका संयोजक विष्णुप्रसाद पाण्डेको अध्यक्षता, सह–सचिव सारदा ज्ञवालीको संचालनमा सम्पन्न भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य इशु देवकोटाले स्वागत गर्नु भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation