काठमाडौँ,१ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदैमा पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। बिहीबार निर्वाचन आयोग पुगेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको र यसले पार्टीलाई नयाँ दृष्टिकोण र नेतृत्व प्रदान गरेको दाबी गरे। उपसभापति शर्माले विशेष महाधिवेशनले लिएको नीतिगत निर्णय र नयाँ कार्यसमितिका बारेमा निर्वाचन आयोगलाई औपचारिक जानकारी गराउन आफूहरू आएको बताए। ‘नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल भएको छ, यसले देशका लागि नयाँ दृष्टिकोण पारित गर्नुका साथै नेतृत्व पनि परिवर्तन गरेको छ,’ उनले भने, ‘कांग्रेसले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा पार्टी फुट्दैन भन्ने सन्देश हामीले दिएका छौँ।’निर्वाचन आयोगले पनि विशेष महाधिवेशनको निर्णय र नयाँ नेतृत्वलाई कानुनसम्मत रूपमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढाउने विश्वास उनले व्यक्त गरे।












