काठमाडौँ,२५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गरेकी छन् । शुक्रबार प्रधानमन्त्रीसँग छलफल गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरू सहभागी भएका थिए । त्यसक्रममा खासगरी निर्वाचन आचारसंहिता कहिलेबाट लागू गर्ने भन्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आयोगले आगामी माघ २ गतेबाट निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको बुझिएको छ । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याल लगायतको उपस्थिति थियो ।












