उपनिषद् र ब्रह्मविद्या

  • (दर्शन दीप: विषय क्रमांक ५२)
    हरेक बिहान जब म आफ्नो काममा लाग्नुअघि अलिकति समय निकालेर गीता प्रेसका ती मोटा ठेलीहरू पल्टाउँछु, तब मनमा एउटा अनौठो शान्ति छाउँछ। आज पनि झ्यालबाट बाहिर हेर्दा तराईको यो शीतल लहर र हल्का कुहिरोको बीचमा बसेर म ब्रह्मविद्याको बारेमा केही लेख्न खोज्दैछु। कता-कता मलाई लाग्छ, हामीले जीवनको दौडधुपमा आफूलाई कतै हराइरहेका छौँ। यो ५२ औँ दिनको चिन्तन जस्तो लाग्ने मेरो माेबाइलकाे नाेटस्मा म उपनिषद्को त्यो अथाह गहिराइलाई उतार्ने प्रयास गर्दैछु, जुन हाम्रो पहिचानको वास्तविक जड हो।
    वैदिक वाङ्मयको विशाल सागरमा संहितापछि ब्राह्मण र आरण्यकहरू आउँछन्, र त्यसको अन्तिम भाग वा निचोड नै उपनिषद् हो। यसलाई त्यसै ‘वेदान्त’ भनिएको होइन। यो त ज्ञानको त्यो पराकाष्ठा हो जहाँ पुगेपछि जान्नुपर्ने अरू केही बाँकी रहँदैन। मलाई याद छ, तौलिहवाका श्रद्धेय पिंगल गुरुले भन्नुहुन्थ्यो, उपनिषद्को अर्थ हो, गुरुको नजिक विनम्र भएर बस्नु। यो केवल शब्दको अर्थ मात्र होइन, यो त एउटा प्रक्रिया हो, एउटा समर्पण हो।
    आजको यो भागदौडपूर्ण जीवनमा, जहाँ हामी सानो कुरामा पनि आत्तिन्छौँ, उपनिषद्ले सिकाउने ब्रह्मविद्याले नै हामीलाई सन्तुलन दिन्छ। ब्रह्म भनेको त्यो तत्व हो जो सर्वव्यापी छ। आधुनिक विज्ञानले जसलाई ‘कस्मिक इनर्जी’ वा ‘क्वान्टम फिल्ड’ भन्न खोज्दैछ, हाम्रा ऋषिहरूले हजारौँ वर्ष पहिले त्यसलाई ‘ब्रह्म’ को रूपमा साक्षात्कार गरिसकेका थिए। आदि शङ्कराचार्यले आफ्ना टीकाहरूमा कति सुन्दर ढंगले सम्झाउनुभएको छ कि आत्मा र ब्रह्म अलग छैनन्। यो कुरा बुझ्न कठिन लाग्न सक्छ, तर सरल भाषामा भन्दा, समुद्रको थोपा र समुद्रको स्वभाव एउटै भए जस्तै हामी पनि त्यही परमात्माकै अंश हौँ।
    यस सन्दर्भमा कठोपनिषद्को यो मन्त्र असाध्यै मननयोग्य छ:
    उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
    क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।।
    अर्थात्, उठ, जाग र ज्ञानी पुरुषहरूको सामीप्यमा गएर ज्ञान प्राप्त गर। किनभने यो ज्ञानको मार्ग धारिलो छुराको धारमा हिँड्नु जस्तै कठिन छ भनेर विद्वानहरूले भन्ने गर्दछन्।
    मन्त्रको भावार्थ यो हो कि हाम्रो चेतनालाई अज्ञानको निद्राबाट जगाउनु नै जीवनको मुख्य लक्ष्य हो। यो बाटो सजिलो छैन, किनकि यसमा आफ्नै अहङ्कार र वासनाहरूसँग लड्नुपर्छ। तर, जो जाग्छ, उसैले मात्र सत्यको दर्शन गर्न सक्छ।
    उपनिषद्को चिन्तनले मानिसलाई संकीर्णताबाट बाहिर निकाल्छ। हामी प्रायः मेरो र तेरो भन्ने संकुचित घेरामा बाँधिएका हुन्छौँ। तर जब ईशावास्योपनिषद्को कुरा आउँछ, त्यहाँ भनिएको छ, ‘ईशावास्यमिदं सर्वं’। अर्थात् यो सबै जगत् ईश्वरद्वारा व्याप्त छ। अनि हामी कसको धनको लोभ गर्ने? यो विचारले मात्रै पनि समाजमा व्याप्त भ्रष्टाचार र ईर्ष्यालाई कम गर्न सक्छ। म आफैँ एक राष्ट्रसेवक भएको नाताले महसुस गर्छु, यदि हामीले आफ्नो कार्यलाई पनि ब्रह्मकै सेवा मान्ने हो भने कार्यक्षमता कति बढ्थ्यो होला!
    ब्रह्मविद्या भनेको कुनै गुफामा बसेर गरिने साधना मात्र होइन। यो त व्यवहारमा उतार्ने कला हो। वृहदारण्यक उपनिषद्मा याज्ञवल्क्य र मैत्रेयीको संवाद सुन्दा लाग्छ, साँचो प्रेम र सम्बन्धको आधार पनि त आत्मज्ञान नै रहेछ। जबसम्म हामी अरूमा आफ्नै आत्मा देख्दैनौँ, तबसम्म साँचो सेवा सम्भव छैन। आधुनिक भौतिकवादले हामीलाई वस्तुको उपभोगमा सुख खोज्न सिकायो, तर उपनिषद्ले त्यागमा सुख खोज्न सिकाउँछ, ‘तेन त्यक्तेन भुञ्जीथा’।
    मुण्डकोपनिषद्मा एउटा अर्को प्रसिद्ध मन्त्र छ, जसले सत्यको महिमा गाउँछ:
    सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयानः ।
    येनाक्रमन्त्यृषयो ह्याप्तकामा यत्र तत्सत्यस्य परमं निधानम् ।।
    अर्थात्, सत्यकै सधैँ विजय हुन्छ, असत्यको होइन। सत्यको मार्गबाटै देवयान (दिव्य मार्ग) को विस्तार हुन्छ, जसको माध्यमबाट पूर्णकाम भएका ऋषिहरू त्यो परम सत्यको भण्डारसम्म पुग्दछन्।
    मन्त्रको भावार्थ यो हो कि जीवनमा जस्तोसुकै कठिन परिस्थिति आए पनि सत्यको मार्ग नछोड्नु नै ब्रह्मविद्याको पहिलो खुड्किलो हो। सत्य बोल्नु मात्र होइन, सत्यमा जिउनु नै वास्तविक अध्यात्म हो।
    विज्ञानले आज पदार्थको अन्तिम सत्य खोज्दै जाँदा ऊर्जामा पुगेर अड्किएको छ। उपनिषद्ले त धेरै अघि नै भनेको थियो कि यो संसार ‘अन्न’ बाट ‘प्राण’, ‘मन’, ‘विज्ञान’ हुँदै ‘आनन्द’ मा लय हुन्छ। यो पञ्चकोशको अवधारणा कति वैज्ञानिक छ! आजको मानसिक तनाव र डिप्रेसनको युगमा यदि हामीले आफूलाई यो शरीर र मनभन्दा माथिको ‘द्रष्टा’ को रूपमा हेर्न सक्यौँ भने धेरै समस्याहरू स्वतः समाधान हुन्छन्।
    दैनिक जीवनमा यसको प्रयोगका लागि केही कुराहरू हामीले गर्न सक्छौँ। पहिलो त, हरेक दिन कम्तीमा १५ मिनेट शान्त भएर बस्ने र “म को हुँ?” भन्ने आत्मचिन्तन गर्ने। दोस्रो, आफूले गर्ने हरेक कामलाई निष्काम भावले समाजको हितमा लगाउने। गृहस्थहरूका लागि त रामायण र महाभारतका कथाहरूले पनि उपनिषद्कै दर्शनलाई सरल रूपमा बुझाएका छन्। अर्जुनको विषाद पनि त आत्मज्ञानकै अभावमा भएको थियो, जुन भगवान् श्रीकृष्णले गीता (जसलाई उपनिषद्को सार मानिन्छ) मार्फत हटाउनुभयो।
    उपनिषद्‌मा भनिएको ब्रह्मविद्या संक्षेपमा भन्दा आत्मा र ब्रह्म एकै हुन् भन्ने प्रत्यक्ष अनुभूति दिलाउने परम ज्ञान हो। यो बाह्य सूचना तर्क वा कर्मकाण्डमा सीमित नभई स्वयम्‌लाई चिन्ने आन्तरिक बोध हो। उपनिषद् अनुसार ब्रह्म नै एकमात्र सत्य हो जगत् परिवर्तनशील छ र जीव ब्रह्मभन्दा अलग होइन। ब्रह्म निराकार अनन्त सर्वव्यापक सत् चित् आनन्द स्वरूप हो जसलाई कुनै नाम रूप वा सीमाले बाँध्न सकिँदैन। यो ज्ञान सुन्ने वा पढ्ने मात्रले होइन गुरु उपदेश आत्मचिन्तन र अहंकार क्षयबाट प्राप्त हुन्छ। ब्रह्मविद्याको फल मोक्ष हो जसले भय शोक र अज्ञानबाट मुक्ति दिन्छ र गृहस्थ जीवनमै आसक्तिबिनाको शान्त विवेकपूर्ण जीवन जिउन सिकाउँछ। अन्ततः ब्रह्मविद्या ईश्वरलाई खोज्ने होइन आफू नै ब्रह्म हुँ भन्ने अनुभूति हो।
    अन्त्यमा, यो ब्रह्मविद्या कुनै विशेष वर्ग वा जातको पेवा होइन। यो त हरेक मानवको अधिकार हो। हामी तराईको घाममा पसिना बगाउने किसान हौँ वा फाइलको चाङमा हराउने कर्मचारी, हामी सबैभित्र त्यही एकै ब्रह्म विराजमान छ। यसलाई महसुस गरौँ। आजको हाम्रो यो छोटो जीवनलाई उपनिषद्को उज्यालोले भर्न सकियो भने मात्र हाम्रो जन्म सार्थक हुनेछ। फेरि भोलि अर्को पाटोमा चर्चा गरौँला, आजलाई यति नै मनमा आयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation