(दर्शन दीप: विषय क्रमांक ५१)
मलाई सम्झना छ, एकपटक रामघाटमा दतुइनिया बाबालाई भेट्न जाँदा वहाँले एउटा कुरा भन्नुभयाे, “बाबु, संसारमा जे देखिन्छ, त्यो मात्रै सत्य होइन, जे देखिँदैन तर महसुस गरिन्छ, त्यो पो वास्तविक सत्य हो।” आज २०८२ साल पौष २४ गतेको बाक्लो हुस्सुले घेरिएको यो सुनसान बिहानीमा उपनिषद्का बारेमा सोच्दै गर्दा त्याे पुरानाे सम्झना मनमा ताजा भएर आयाे। ताताे पानीको गिलास समात्दै गर्दा मलाई लाग्यो, वास्तवमा उपनिषद् कुनै पुस्तक मात्र होइनन्, यो त मानिसको अन्तरात्माले गरेको सत्यको खोजी हो।
वैदिक वाङ्मयको विशाल साम्राज्यमा उपनिषद्लाई ‘वेदान्त’ भनिन्छ। वेदान्तको अर्थ हो, वेदको अन्तिम भाग वा निचोड। सुरुमा ऋषिमनिुहरूले यज्ञ-यागादि र मन्त्रहरूको साधना गरे, जसलाई संहिता र ब्राह्मण भनियो। त्यसपछि अलिकति एकान्त र चिन्तनको आवश्यकता महसुस भयो, जसबाट आरण्यकहरूको जन्म भयो। तर जब मानव चेतनाले “म को हुँ?” र “यो जगतको मूल आधार के हो?” भन्ने जस्ता गहन प्रश्नहरू सोध्न थाल्यो, तब उपनिषद्को उदय भयो। आदि शङ्कराचार्यका भाष्यहरू पल्टाएर हेर्ने हो भने, ‘उप’ र ‘नि’ को अर्थ सामिप्य र निष्ठा हो, अनि ‘सद्’ को अर्थ बस्नु वा अज्ञानलाई नाश गर्नु हो। यसको सीधा अर्थ हो गुरुको पाउमा बसेर लिइने त्यो परम विद्या जसले जन्म-मरणको चक्रबाट मुक्ति दिन्छ।
उपनिषद्लाई ‘ब्रह्मविद्या’ वा ‘आध्यात्मविद्या’ पनि भनिन्छ। कतै कतै यसलाई ‘रहस्य विद्या’ भनिएको छ, किनकि यो गोप्य र गहिरो छ। मुक्तिकोपनिषद्का अनुसार १०८ वटा उपनिषद् छन्, तर आदि शङ्कराचार्यले टीका लेख्नुभएका १० वटा (कसैले ११ पनि भन्छन्) मुख्य मानिन्छन्। जस्तै- ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तिरीय, ऐतरेय, छान्दोग्य र बृहदारण्यक। ऋग्वेदको ऐतरेय होस् वा यजुर्वेदको बृहदारण्यक, हरेकको एउटै लक्ष्य छ, ‘जीवलाई शिव (ब्रह्म) बनाउनु’।
मैले ईशावास्योपनिषद्को त्यो पहिलो मन्त्र मनन गर्दाको समय अझै बिर्सेको छैन। त्यसमा एउटा गज्जबको कुरा भनिएको छ:
ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्॥
अर्थात्, यो सम्पूर्ण दृश्य-अदृश्य जगतमा जे जति छ, ती सबै परमात्माद्वारा व्याप्त छन्। त्यसैले, ती वस्तुहरूलाई त्यागपूर्वक भोग गर, कसैको धनको लोभ नगर।
यो मन्त्रको भावार्थ यो हो कि, हामीले यो संसारमा जे जति पाउँछौँ, त्यसलाई आफ्नो निजी सम्पत्ति मान्नुहुँदैन। हामी त केवल एउटा सानो भूमिका निभाउन आएका छौँ। आधुनिक विज्ञानले ‘इनर्जी मास इक्विभ्यालेन्स’ को कुरा गर्छ, तर हाम्रा ऋषिहरूले हजारौँ वर्ष पहिले नै भने कि सबै कुरा एउटै ऊर्जा (ब्रह्म) बाट बनेको छ। जब हामीमा यो भाव आउँछ, तब लोभ र द्वेष आफैँ हराएर जान्छ। हाम्रो निजी जीवनमा पनि त यही लागू हुन्छ नि, हैन र? ‘तेन त्यक्तेन भुञ्जीथा’ इमानदारी र त्यागको भावनाले काम गर्दा पाइने आत्मसन्तुष्टि नै वास्तविक सुख हो।
अझ बृहदारण्यक उपनिषद्को यो मन्त्र त झन् कति शक्तिशाली छ:
असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय ॥
अर्थात्, “मलाई असत्यबाट सत्यतर्फ लैजाऊ, अन्धकारबाट ज्योतितर्फ लैजाऊ र मृत्युबाट अमरतातर्फ लैजाऊ।”
यो मन्त्रकाे भावार्थ याे हाे कि हाम्रो वास्तविक प्रकृति नै सत्य, ज्ञान र अमरता हो। हामी शरीर मात्र होइनौँ, जो मर्छ; हामी त त्यो आत्मा हौँ जो सधैँ रहन्छ। रामायणमा श्रीरामले शरभङ्ग ऋषि र माता शबरीलाई दिएको उपदेश होस् वा महाभारतको गीता, सबैको जरा तिनै उपनिषद् हुन्।
सनातन वैदिक धर्म र पूर्वीय आस्तिक दर्शनमा उपनिषद्को स्थान मेरुदण्ड जस्तै छ। हाम्रा ६ वटा आस्तिक दर्शनहरू (न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त) मध्ये वेदान्त दर्शन त पूर्ण रूपमा उपनिषद्मै आधारित छ। यसले “अहं ब्रह्मास्मि” अर्थात् म नै त्यो ब्रह्म हुँ भन्ने सिकाउँछ। यो कुनै घमण्ड होइन, बरु आफ्नो क्षुद्र अहंकारलाई पगालेर विराटमा मिसाउने प्रक्रिया हो। पूर्वीय दर्शन मात्र होइन, आज त विश्वकै आध्यात्मिक मञ्चमा उपनिषद्को चर्चा छ। जर्मन दार्शनिक आर्थर सोपेनहावरले भनेका थिए, “उपनिषद्को अध्ययन मेरो जीवनको सान्त्वना हो र यो मेरो मृत्युको पनि सान्त्वना हुनेछ।” आजको आधुनिक भौतिकवादी संसारमा जब मानिस चरम तनावमा हुन्छ, तब उसले शान्तिका लागि ‘विपश्यना’ वा ‘वेदान्त’ कै शरण लिनुपर्छ। क्वान्टम फिजिक्सका कतिपय सिद्धान्तहरूले उपनिषद्कै ‘चेतना’ (Consciousness) सम्बन्धी धारणालाई पुष्टि गरिरहेका छन्।
हामी जस्ता गृहस्थका लागि यसको ठूलो महत्त्व छ। अफिसको तनाव, फाइलहरूको थुप्रो र समाजको कोलाहलबीच उपनिषद्ले एउटा ‘स्थिर बिन्दु’ प्रदान गर्छ। यसले सिकाउँछ कि सफलता र असफलता दुवै क्षणिक हुन्। कार्यान्वयनका लागि हामीले धेरै केही गर्नु पर्दैन, केवल दिनको केही मिनेट ‘आत्म-निरीक्षण’ गर्ने र सबैमा त्यही एउटै ईश्वर छ भन्ने भावले सेवा गर्ने।
आजको दिनमा उपनिषद्को सान्त्वना र मार्गदर्शन झन् बढी खड्किएको छ। हामीले हाम्रा बालबालिकालाई ‘बौद्धिक’ त बनायौँ, तर ‘आध्यात्मिक’ बनाउन बिर्सियौँ। सायद, यी शास्त्रहरू फेरि एक पटक स्कुल र कलेजका पाठ्यक्रममा पनि कुनै न कुनै रूपमा आउनुपर्छ, ताकि नयाँ पुस्ताले आफ्नो जग नबिर्सियोस्। तर यो उपनिषद्को न्यानोपनले मन अलि हलुका भएको छ। आशा छ, यो ज्ञानको दियोले हामी सबैको अज्ञानताको कुहिरोलाई हटाउनेछ। जीवनको अन्तिम उद्देश्य भनेकै त्यही हो, ‘अन्धकारबाट ज्योति तर्फको यात्रा’।












