मिडियामा आएको खबरपछि ढाकावाङ्गमा सरकारी टोली, पीडित मनिराम नेपालीलाई राहत र दीर्घकालीन सहयोगको पहल

  • अर्घाखाँची, २२ पौष । विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा घरमा बिजुली बत्तीसमेत नभएको, कमाउने सदस्य कोही नरहेको, मागेर गाँस गुजारा गर्दै आएको अवस्थाको समाचार सार्वजनिक भएपछि अर्घाखाँची जिल्लाका सरोकारवाला निकाय पीडितको घरमै पुगेका छन्।
    जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसी, जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारसहितको टोली भूमिकास्थान नगरपालिका–१ ढाकावाङ्ग, पोख्राखर्कस्थित पीडित मनिराम नेपाली (जुठे) को घरमा पुगेर वास्तविक अवस्था बुझेको हो।

    टोलीले पीडितको पारिवारिक, आर्थिक, स्वास्थ्य तथा शैक्षिक अवस्थाबारे जानकारी लिँदै तत्कालीन राहतस्वरूप आर्थिक सहयोग, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री हस्तान्तरण गरेको छ। साथै दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

    जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले पीडित मनिराम नेपालीको स्वास्थ्य अवस्थाका वारेमा बुझेर सर्वप्रथम स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले आवश्यक उपचार, सामाजिक सुरक्षा र अन्य सहयोगका लागि जिल्ला समन्वय समितिबाट सहजीकरण गरिने स्पष्ट पार्नुभयो।

    त्यस्तै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले पीडित परिवारका बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई नियमित विद्यालय जाने वातावरण नगरपालिकाले निर्माण गर्ने बताउनुभयो। उहाँले विद्यालय शिक्षाका लागि कुनै शुल्क नलाग्ने र आवश्यक शैक्षिक सामग्री तथा सहयोग नगरपालिकामार्फत उपलब्ध गराइने जानकारी दिनुभयो।

    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले राज्यका निकायहरू पीडित नागरिकका समस्या सुन्न र समाधान गर्न सधैं तयार रहेको बताउँदै कानुनी, प्रशासनिक तथा सामाजिक सुरक्षाका पक्षमा आवश्यक पहल गरिने उल्लेख गर्नुभयो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले पनि आवश्यक सुरक्षात्मक र मानवीय सहयोगमा प्रहरी प्रशासन सधैं साथमा रहने प्रतिबद्धता जनाउनुभयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation