(दर्शन दीप: विषय क्रमांक ४८)
हिजोआज टेलिभिजनका समाचारहरूमा युद्ध र विनासका दृश्यहरू देख्दा मन साह्रै विचलित हुन्छ। कता-कता लाग्छ, मान्छेले भूगोल त जित्यो तर आफ्नो विवेक भने हार्दै गइरहेको छ। मनमा उत्सुकता जन्मियाे वेद र उपनिषद्काे यस विषयमा कस्तो मत छ, यसमा विचार गर्दा मेरो ध्यान वैदिक ‘धर्मयुद्ध’ को अवधारणामा अडियो। हाम्रा ऋषिमुनिहरूले युद्धलाई केवल रगतको खेल मानेनन्, बरु यसलाई एउटा कठोर ‘अनुशासन’ र ‘मर्यादा’ को कसीमा राखेका थिए।
वेदमा युद्धको चर्चा गर्दा हामीले के बुझ्नुपर्छ भने, त्यहाँ हतियारभन्दा बढी ‘हृदयको शुद्धि’ मा जोड दिइएको छ। ऋग्वेदको समयमा जब आर्यहरूका बीचमा वा अन्य परिस्थितिमा संघर्ष हुन्थ्यो, त्यहाँ केही कडा नियमहरू थिए। ती नियमहरू आजको तथाकथित ‘जेनेभा कन्भेन्सन’ भन्दा धेरै गुणा मानवीय र नैतिक थिए। मलाई याद छ, गुरुले भन्नुहुन्थ्यो, “युद्ध त अन्तिम विकल्प मात्र हो, पहिलो धर्म त शान्ति नै हो।”
वैदिक वाङ्मयमा युद्धलाई ‘यज्ञ’ को रूपमा पनि लिइएको पाइन्छ, जहाँ योद्धाले आफ्नो स्वार्थको आहुति दिनुपर्छ। ऋग्वेदमा एउटा साह्रै मर्मस्पर्शी मन्त्र छ, जसले युद्धको समयमा पनि शत्रुप्रति कस्तो दृष्टि राख्नुपर्छ भन्ने सिकाउँछ:-
मा न: शंसो अररुषो धूर्ति: प्रणङ् मर्त्यस्य ।
रक्षा णो ब्रह्मणस्पते ।।
यो मन्त्रले मानवीय अहंकार र बाह्य शत्रुता दुवैबाट सुरक्षाको कामना गर्दछ। यसको मुख्य भाव भनेको हे ज्ञानका अधिपति परमात्मा, हामीलाई आफ्नै भित्रको ‘म’ भन्ने घमण्ड र बाहिरका ईर्ष्यालु वा धूर्त व्यक्तिहरूको खराब नियतले नष्ट पार्न नसकोस्। अर्थात्, हामीले युद्ध वा सङ्घर्षको मैदानमा उत्रिँदा आफ्नो विवेक नगुमाऔँ र अरूको षड्यन्त्रबाट पनि जोगिन सकौँ भन्ने नै यसको वास्तविक निचोड हो। मलाई लाग्छ, यो मन्त्रले हामीलाई सधैँ सतर्क र संयमित रहन सिकाउँछ। साथै, युद्धको मैदानमा उत्रिँदा पनि हाम्रो मनमा शत्रुप्रति व्यक्तिगत घृणा वा धूर्तता हुनुहुँदैन। शत्रुको अधर्म र हिंसाबाट हाम्रो रक्षा होस् भन्ने प्रार्थना गरिँदा, आफ्नो पनि नैतिक पतन नहोस् भन्नेमा ऋषिहरू सचेत थिए। शास्त्रले भन्छ, निदाएको, हतियार नभएको, वा शरणमा आएको शत्रुलाई प्रहार गर्नु महापाप हो।
ब्राह्मण र आरण्यक ग्रन्थहरूमा युद्धका प्रकारहरूको चर्चा छ। ‘धर्मयुद्ध’ र ‘कूटयुद्ध’ का बीचको भिन्नता स्पष्ट पारिएको छ। धर्मयुद्ध त्यो हो, जहाँ मर्यादाको पालन गरिन्छ। उपनिषद् कालमा आइपुग्दा त युद्धलाई झन् आन्तरिक पाटोबाट हेरियो। वृहदारण्यक उपनिषद्ले इन्द्रिय र मनको संघर्षलाई नै ठुलो युद्ध मानेको छ। जबसम्म हामी भित्रको काम, क्रोध र लोभलाई जित्दैनौँ, बाहिरको विजयको कुनै अर्थ रहँदैन।
अथर्ववेदमा एउटा अर्को अद्भुत मन्त्र छ:-
संज्ञानं न: स्वेभि: संज्ञानमरिभि: ।
संज्ञानमश्विना युवमिहास्मासु नि धत्तम् ।।शब्दार्थ: संज्ञानम् (एकता/सहमति), न: (हाम्रो), स्वेभि: (आफ्नाहरूसँग), संज्ञानम् (एकता), अरिभि: (शत्रुहरूसँग), अश्विना (हे अश्विनीकुमारहरू), युवम् (तपाईँहरूले), इहास्मासु (हामीमा), नि धत्तम् (स्थापित गर्नुहोस्)।
दार्शनिक भावार्थ: कति विशाल सोच! ऋषिहरूले आफ्नासँग मात्र होइन, शत्रुसँग पनि वैचारिक एकता र सद्भावको कामना गरेका छन्। युद्धमा पनि शत्रुको विनाश होइन, उसको बुद्धिको परिवर्तन र सत्यको स्थापना मुख्य लक्ष्य हुन्थ्यो। आजको युगमा, जहाँ आणविक बमको डरले संसार काँपिरहेको छ, यो ‘संज्ञानम्’ को मन्त्र ओखती जस्तै छ।
आजको वैज्ञानिक र डिजिटल युगमा युद्धको स्वरूप फेरिएको छ, ‘साइबर वार’ देखि लिएर आर्थिक युद्धसम्म। तर, ती सबैमा नैतिकताको खडेरी छ। वैदिक युद्ध-नीतिले सिकाउँछ कि प्रविधि जतिसुकै आधुनिक भए पनि मान्छेको ‘विवेक’ पुरानो हुनुहुँदैन। एउटा गृहस्थले आफ्नो परिवारको रक्षा गर्दा होस् वा एउटा सिपाहीले सिमानामा लड्दा, यदि उसले आफ्नो धर्म (कर्तव्य) बिर्सियो भने त्यो विजय वास्तवमा हार नै हो।
हाम्रो समाजमा अहिले सानो-सानो कुरामा झगडा गर्ने, एक-अर्काको खुट्टा तान्ने प्रवृत्ति बढेको छ। यो पनि त एउटा सूक्ष्म युद्ध नै हो नि। वैदिक दर्शनका यी सुत्रहरूलाई हामीले दैनिक जीवनमा लागू गर्न सक्छौँ। कसैले नराम्रो गर्दा पनि आफ्नो मर्यादा नछोड्नु, कसैको कमजोरीको फाइदा नउठाउनु र सत्यको पक्षमा अडिग रहनु नै आजको सन्दर्भमा धर्मयुद्ध हो।
यो ज्ञानको यात्रामा हिँड्दै गर्दा, आजको यो ४८ औँ विश्राममा मलाई के महसुस भइरहेको छ भने वेद कुनै थोत्रो पोथी होइन, यो त जिएर हेर्ने कला हो। ऋषिहरूको त्यो महान् दृष्टिले नै हामीलाई मान्छे बनाएर राखेको छ।
केही व्यावहारिक उपायहरू:
• कुनै पनि विवादमा ‘अन्तिम सत्य’ आफू मात्र हुँ भन्ने अहंकार त्याग्ने।
• विरोध गर्दा पनि मर्यादा र शब्दको शिष्टता कायम राख्ने (जुन आजको सामाजिक सञ्जालमा हराउँदै गएको छ)।
• अरूको उन्नतिमा ईर्ष्या गर्नुको सट्टा, आफ्नो कर्ममा ध्यान दिने।
लेख्दा-लेख्दै धेरै बेर भइसकेछ। बाहिर झ्यालबाट हेर्दा चराहरू आफ्नै धुनमा चिरबिरचिरबिर गर्दैछन्। उनीहरूकाे बाेली पार्श्व संगीत र वातावरण कति शान्त! उनीहरूको संसारमा कतै युद्ध छैन, किनकि उनीहरू प्रकृतिसँग जोडिएका छन्। हामी पनि अलि कति प्रकृतिको नजिक र अलि बढी आफ्नो आत्माको नजिक हुन सक्यौँ भने, यो धर्ती साँच्चै बस्न लायक ठाउँ हुनेछ।
खैर, आजको कुरा यति नै।
तपाईँहरूलाई यो वैदिक युद्ध-नैतिकताको प्रसङ्ग कस्तो लाग्यो? मनमा केही लागेको छ भने निर्धक्क भन्नुहोला है।
भोलि फेरि अर्को नयाँ विषयमा घोत्लिने बाचा गर्दै,
शुभम् !












