‘
हिजोआजको यो भागदौड भरिएको संसारमा मान्छेको मन कता-कता हराइरहेको जस्तो लाग्छ। हिजो बेलुका आँगनमा बसेर आकाशतिर हेर्दै गर्दा मलाई हाम्रो पुर्खाहरूको त्यो दिव्य चिन्तनको याद आयो, जसले हजारौँ वर्ष पहिले नै ‘अहिंसा’ को बीउ रोपेका थिए। आज म तपाईँहरूसँग त्यही प्राचीन सत्यको एउटा पाटो साट्न चाहन्छु, जुन हाम्रो संस्कार र रगतमा भिजेको छ।
वेदका पानाहरू पल्टाउँदै जाँदा हामीले बुझ्नुपर्ने पहिलो कुरा के हो भने, अहिंसा केवल कसैलाई नकाट्नु वा नमार्नु मात्र होइन। यो त एउटा गहिरो दार्शनिक चेतना हो। वैदिक वाङ्मयमा ‘अहिंसा परमो धर्मः’ भनिँदा यसको अर्थ व्यापक छ। ऋग्वेददेखि उपनिषद् कालसम्म आइपुग्दा ऋषिहरूले यसलाई ब्रह्माण्डीय सन्तुलनको रूपमा व्याख्या गरे। मलाई कता-कता लाग्छ, यदि हामीले त्यतिबेलै यो कुरा राम्ररी बुझ्न सकेको भए आजको समाज यति धेरै अशान्त हुने थिएन होला।
वैदिक दृष्टिकोणमा सबै प्राणीमा एउटै परमात्माको अंश देखिन्छ। जब हामी अर्को जीवलाई कष्ट दिन्छौँ, वास्तवमा हामी आफ्नै आत्मतत्त्वलाई चोट पुर्याइरहेका हुन्छौँ। यजुर्वेदमा एउटा साह्रै सुन्दर मन्त्र छ, जसले मेरो मनलाई सधैँ तरंगित बनाउँछ:
दृते दृंह मा मित्रस्य मा चक्षुषा सर्वाणि भूतानी समीक्षन्ताम् ।
मित्रस्याहं चक्षुषा सर्वाणि भूतानी समीक्षे मित्रस्य चक्षुषा समीक्षामहे ।।
अर्थात्, दृते (हे दृढ स्वरूप परमात्मा), मा (मलाई), दृंह (दृढ बनाउनुहोस्), सर्वाणि भूतानी (सबै प्राणीहरूले), मा (मलाई), मित्रस्य चक्षुषा (मित्रको आँखाले), समीक्षन्ताम् (हेरून्), अहम् (म पनि), सर्वाणि भूतानी (सबै प्राणीलाई), मित्रस्य चक्षुषा (मित्रको दृष्टिले), समीक्षे (हेरूँ)।
यो मन्त्रले संसारमा सद्भाव र अहिंसाको जग बसाल्छ। यसकाे भावार्थ याे हाे यश प्रकार छ:- हे ईश्वर, मलाई यस्तो शक्ति दिनुहोस् कि यो संसारका सबै प्राणीले मलाई शत्रु होइन, मित्रको नजरले हेरून्। र, म पनि कसैलाई पराई नठानूँ, सबैलाई आफ्नै मित्र जस्तो देखूँ। जब हेर्ने दृष्टिकोणमा ‘मित्रता’ आउँछ, तब हिंसाको ठाउँ नै रहँदैन। यो नै वैदिक अहिंसाको पहिलो खुड्किलो हो।
यहाँनेर, कतिपय मान्छे सोच्छन् कि वैदिक कालमा त पशुबलि दिइन्थ्यो, अनि कसरी अहिंसा भयो त? तर गहिरिएर हेर्दा ब्राह्मण र आरण्यक ग्रन्थहरूले ‘यज्ञ’ लाई सांकेतिक रूपमा बुझाएका छन्। त्यहाँ पशु भनेको हाम्रो भित्रको पाशविक प्रवृत्ति जस्तै क्रोध, लोभ र अहंकार हो। त्यसलाई त्याग्नु नै वास्तविक बलि हो। उपनिषद्ले त झन् प्रष्ट भन्छ कि ‘सर्वं खल्विदं ब्रह्म’ अर्थात् सबैतिर ब्रह्म नै छ। जब सबैतिर त्यही एउटै चैतन्य छ भने कसले कसलाई मार्ने?
यद्यपि, एउटा मननीय विषय के छ भने, वैदिक काल अघिसम्म कुनै न कुनै रूपमा पशुबलि दिइन्थ्याे, जसलाई वेदकाे अवतरण पछि शनै शनै निषेध गर्दै गए। तथापि, हालसम्म पनि कतिपय पर्व र मन्दिरमा पशुबलि दिइने प्रथा कायमै छ। कतिपय विद्वान् हरुका मतानुसार वैदिक ग्रन्थहरूमा पशुबलिको उल्लेख गरिएको छ, यसमा सामान्यतया गोरु, बाख्रा र भैंसी जस्ता जनावरहरू समावेश छन्, तर गाई होइन। किनकि, वेदहरूले बारम्बार गाईलाई “अघन्या” भनेर उल्लेख गरेका छन्, जसको अर्थ पुरातन भारतीय समाजमा यसको पवित्र स्थितिलाई जोड दिँदै यसलाई मार्नु वा हानि गर्नु हुँदैन अर्थात् गाई अवद्य हाे। स्मरणीय के छ भने वेदान्तले हरेक हिसाबले पशुबलिलाई वर्जनीय मानेकाे छ।
छान्दोग्य उपनिषद्मा पनि एउटा मन्त्र छ जसले जीवनको अन्तिम लक्ष्य र अहिंसाको सम्बन्ध प्रष्ट पार्छ:
स खल्वेवं वर्तयन्यावदायुषं ब्रह्मलोकमभिसम्पद्यते न च पुनरावर्तते न च पुनरावर्तते ।।
यसको सार के हो भने, जो व्यक्तिले आफ्नो सम्पूर्ण इन्द्रियहरूलाई आत्मामा केन्द्रित गर्छ र ‘अहिंसन् सर्वभूतान्यन्यत्र तीर्थेभ्यः’ अर्थात् शास्त्रसम्मत विशेष परिस्थिति बाहेक सबै प्राणीप्रति अहिंसक रहन्छ, ऊ नै वास्तविक मुक्तिको अधिकारी हुन्छ। यहाँ ‘तीर्थ’ को अर्थ जीवनका कर्तव्य र प्राकृतिक न्यायसँग जोडिएको छ।
आजको यो वैज्ञानिक युगमा, जहाँ मान्छेले चन्द्रमामा पाइला त टेक्यो तर छिमेकीको मनमा ठाउँ बनाउन सकेन, त्यहाँ वैदिक अहिंसा झन् सान्दर्भिक भएको छ। मानसिक तनाव, डिप्रेसन र समाजमा बढ्दो विद्वेषको मुख्य कारण नै हाम्रो हिंस्रक सोच हो। हामी शब्दले हिंसा गर्छौँ, विचारले कसैको कुभलो चिताउँछौँ, यो पनि त हिंसा नै हो नि, होइन र?
आधुनिक सन्दर्भमा यसको प्रयोग निकै व्यावहारिक छ। यदि हामीले ‘मित्रस्य चक्षुषा’ (मित्रको दृष्टि) लाई मात्र अंगाल्न सक्यौँ भने घरभित्रका झगडा देखि लिएर अन्तर्राष्ट्रिय युद्धसम्म कम हुन सक्छन्। समाजमा नैतिक मूल्यको खडेरी परिरहेका बेला, वैदिक दर्शनले हामीलाई ‘दया’ होइन, ‘एकात्मभाव’ सिकाउँछ।
हामीले दैनिक जीवनमा के गर्न सक्छौँ त?
साधकहरूका लागि त यो अनिवार्य छँदैछ, तर हामी जस्ता गृहस्थीहरूले पनि साना-साना कुराबाट सुरुवात गर्न सक्छौँ।
पहिलो कुरा, आफ्ना शब्दहरूमा संयम राख्ने। कसैलाई चित्त दुखाउने गरी नबोल्नु पनि ठुलो अहिंसा हो।
दोस्रो, प्रकृति र प्राणीप्रति कृतज्ञ हुने। भोको कुकुरलाई एक टुक्रा रोटी दिनु वा एउटा बिरुवा रोप्नु पनि अहिंसाकै पाटो हो।
र तेस्रो, विचारको शुद्धता। कसैको प्रगति देख्दा डाह गर्नुको सट्टा खुसी हुन सिकौँ।
यसरी हेर्दा, हाम्रो यो ज्ञानको परम्परा कुनै एउटा समयको लागि मात्र होइन, यो त शाश्वत छ। ४७ औँ पाइलासम्म आइपुग्दा मलाई महसुस हुँदैछ कि हामी जति गहिरो जाँदैछौँ, उति नै शान्तिको स्रोत भेटिँदैछ। यो शृङ्खलाले हामीलाई केवल जानकारी मात्र दिइरहेको छैन, बरु भित्रैदेखि रूपान्तरण गर्न खोजिरहेको छ।
आजका लागि यति नै।
वास्तवमा, लेख्दै जाँदा धेरै कुरा मनमा खेलिरहेका छन्, तर ती सबैलाई शब्दमा उतार्न सम्भव छैन। आशा छ, हामी सबैले आफ्नो हृदयमा अहिंसाको सानो दियो बाल्न सक्नेछौँ।
भोलि फेरि अर्को विषयमा अलि गफगाफ गरौँला। तबसम्मका लागि,
सर्वे भवन्तु सुखिनः!












