बुटवल,२८ मंसिर । ‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’ माथि बुटवलमा किताब संवाद तथा लेखक–पाठक भेटघाट कार्यक्रम भएको छ । प्रकाशनको ८ महिनामै ३० हजार बढी प्रति बिक्री भएको यस उपन्यासमाथि लेखक पुरुषोत्तम बजगाईँसँग पत्रकार सी.पी. खनालले संवाद गरेका हुन् ।
बुटवलमा आयोजित कार्यक्रममा प्रेम, मित्रता, परिवारिक सम्बन्ध र युवावस्थाको मानसिक द्वन्द्वलाई सरल, तर संवेदनशील ढङ्गले प्रस्तुत गरिएको ‘नीलो प्रेम’ का विषयमा पत्रकार खनालले नीलो प्रेमको अर्थ, युवा पुस्ताबिचको प्रेम सम्बन्ध, समाजप्रति तिनको दृष्टिकोणलगायतका विषयमा प्रश्न र विमर्श गरेका थिए ।
जवाफमा लेखक बजगाईंले युवाअवस्थाको मनोविज्ञानलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । प्रेम, मित्रता, परिवार, आत्मपहिचान र समाज किशोरावस्थाका अत्यन्त संवेदनशील विषय भएकाले पुस्तकमा ती विषय समेट्ने प्रयास गरेको बताएका थिए । ‘कथाको विषयवस्तु नीलो आकाशझैँ विशाल र सागरझैँ हार्दिकताको गहिराइको चरणमा हुने अनन्त आदर्श प्रेमको हो । यसैले पुस्तकको शीर्षक पनि सान्दर्भीक छ । पुस्तकेको नीलो रंगले यही द्वन्द्व, गहिराइ र एक्लोपनलाई प्रतीकात्मक रूपमा बोकेको छ,’ लेखकले भने, ‘उपन्यास लेख्दा मैले युवावस्थाको यही मनोविज्ञानलाई नजिकबाट बुझ्ने प्रयास गरेको थिएँ ।’
आजका युवाहरूको प्रेम सम्बन्धमाथिे समाजमा भ्रम र पूर्वाग्रह रहेकोमा आफू उनीहरूको भावनालाई दोष दिने हेइन, तिनलाई बुझ्ने पक्षमै रहेको लेखकको भनाइ थियो । ‘प्रेम कहिले कठोर, कहिले कोमल रूपमा संसार बुझ्ने विशिष्ट माध्यम हो’, बजगाईंले भने ।
प्रेमकथामा आधारित भए पनि ‘नीलो प्रेम’ उपन्यासले सामाजिक, सांस्कृतिक र आर्थिक आयामलाई पनि निकै सूक्ष्म रूपमा उतारेको छ ।
आदर्श प्रेमको पक्षलाई जीवन्त बनाएको यो किताब सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेलले बताए ।
‘नीलो प्रेम’ बजगाईँको यो पहिलो किताब हो । पहिलो किताबबाटै विक्रीमा नयाँ रेकर्ड बनाएको यो उपन्यास विशेषतः युवापुस्तामाझ लोकप्रिय छ ।
टिकटकसहितका सामाजिक सञ्जालमा पुस्तकका भावनात्मक अंशहरू पढेर नाच्दै, हाँस्दै, रुँदै र भावुक बनेका पाठकका भिडिओहरू भाइरल भइरहेका छन् ।












