बुटवल,२५ मंसिर । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका लागि स्टल निर्माण कार्य सुरु भएको छ । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्र्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावट देखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने र स्वदेशी उत्पादनलाई मात्रै यहाँ स्थान दिइनेगरी संघले दर्ता हुने स्टलहरुलाई कडा नियम बनाएको अध्यक्ष कृष्णप्रसाद पराजुली बताउनुहुन्छ । नेपालकै नमुना औद्योगिक प्रदर्शनी केन्द्रको बाहिरी संरचना बनेपनि आन्तरिक संरचना निर्माण भइरहेकाले प्रदर्शनी हलभित्र र बाहिरको सरसफाई सकेर बिहीबारबाट स्टवल निर्माणका लागि काम सुरु भएको द्वितीय उपाध्यक्ष युवराज आचार्यले जानकारी दिनुभयो । प्रदर्शनी केन्द्रमा यो पटक भित्र मात्रै नभएर बाहिर सांस्कृतिक कार्यक्रम स्थल समेत पक्की संरचना बन्दै गएकाले केही समय यो क्षेत्रको सरसफाईमा समय लागेको र बिहीबार सम्म त्यो काम सकिएको कोषाध्यक्ष तथा बाल उद्यान उपसमितिका संयोजक विशाल बेल्वासेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बालउद्यानका लागि संरचनाहरु राख्ने काम भइरहेको छ । प्रदर्शनी केन्द्रमा बाहिरदेखि भित्री भागहरुमा आकर्षक सजावटको तयारी भइरहेको सजावट उपसमिति संयोजक यादव गैरे बताउनुहुन्छ । अहिले सबै संरचना बनेको छैन, मूल गेट स्थायी भएकाले हामीले सजाउने मात्रै हो, बाहिरदेखि भित्रसम्म विशेष रुपमा सजावटको काम सुरु भएको छ, स्टल निर्माणपछि भित्र पनि आकर्षकरुपमा सजाइने छ’ उहाँले भन्नुभयो । 
प्रदर्शनी केन्द्र भित्र र बाहिर सबै सरसफाईको साथै खानेपानीको व्यवस्थापन अन्तिम चरणमा पुगेको र प्रदर्शनीमा यसअघि शौचालयको बढी समस्या आएकोले यसलाई विशेष ध्यान दिइने खानेपानी उप तथा सरसफाई उपसमितिका संयोजक मेघ बहादुर घिमिरेले जानकारी दिनुभयो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने नाराका साथ बुटवल स्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् ।
बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आयोजना गर्न लागिएको यो प्रदर्शनीमा स्वदेशी उद्योगका मात्रै उत्पादन राखिने र काठमाडौ सहित भारतका विभिन्न शहरमा समेत प्रचार गरिएपछि उद्योगीहरु उत्साहित भएको प्रचार समिति संयोजक ईं किरण खरेलले जानकारी दिनुभयो । प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार अहिलेसम्म अधिकांश पेभेलियनमा स्टल दर्ता सकिएको र केहीमा मात्रै बाँकी रहेका छन् । ‘जुत्ता, होटल, कपडासहितका धेरै पेभेलियन पूरा भएका छन्, केही बाँकी छन् हामीकहाँ स्टल दर्ता हुन आएका पनि धेरै व्यवसायी स्वदेशी उत्पादन मात्रै राख्नुपर्ने हाम्रो नियमले फर्किनुभएको छ उहाँले भन्नुभयो । रुपन्देही उद्योग संघले संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गरिरहेको छ ।
स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तीनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको संघका महासचिव तथा प्रदर्शनीका सदस्य सचिव सुमन बस्यालले बताउनुभयो । सो पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसङ्घले सञ्चालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाएको छ। संघले प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनहरूको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ताविज्ञहरू र सरकारी निकायबीच अन्तरसम्वाद, आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरूलाई प्रोत्साहन, पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल, औद्योगिक जनशक्ति निर्माणलाई राखिएको पर्यटन प्रवद्र्धन उपसमिति संयोजक टंकनारायण आचार्यले बताउनुभयो । प्रदर्शनीले स्वदेशी उत्पादनलाई व्यापक प्रचार–प्रसार गर्ने मात्र नभई, देशभरको औद्योगिक सम्भावनाको खोजी, नयाँ प्रविधिको पहिचान, कृषि व्यवसायीकरण, पर्यटन प्रवद्र्धन तथा युवा उद्यमशीलतालाई प्रोत्साहन दिने महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै, कला–संस्कृतिको संरक्षण, गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रममार्फत ज्ञान आदानप्रदान गर्ने वातावरण पनि निर्माण गरिनेछ। यस वर्षको प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरीबेकरी र कन्फेक्सनरी, छाला उद्योग, खाद्यान्न, सूचना प्रविधि लगायतका क्षेत्र समेटिएका करिब ५०० स्टल रहनेछन्। प्रदर्शनीलाई हेर्न ८ लाखभन्दा बढी दर्शक आउने र करिब ३० करोड रुपैयाँ बराबरको व्यवसाय हुने अनुमान गरिएको सहकोषाध्यक्ष राजु घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवलाई विविध तथा मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, आधुनिक गीत–संगीत प्रस्तुती, हास्य कलाकारका कार्यक्रम, स्थानीय कलाकारका प्रदर्शन, विद्यालय तथा कलेज स्तरका लोकनृत्य र वक्तृत्वकला प्रतियोगिता, लोकभजन प्रतियोगिता र ‘प्रदर्शनी आइडल’ लगायतका विभिन्न सांस्कृतिक तथा प्रतिस्पर्धात्मक कार्यक्रम समावेश गरिएको सांस्कृतिक समितिका संयोजक लालप्रसाद बस्यालले बताउनुभयो ।
महोत्सव सफल बनाउन रुपन्देही उद्योग सङ्घका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।












