आजदेखि सुरु दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव

  • मानपकडी ,२४ मंसिर । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा आयोजना गरिएको दोस्रो शुद्धोदन उद्योग वाणिज्य, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव आजदेखि औपचारिक रुपमा सुरु भएको छ। शुद्धोदन उद्योग वाणिज्य संघका अध्यक्ष लालमणि श्रेष्ठको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका सांसद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद तुलसी प्रसाद चौधरीले ग्रामीण क्षेत्रमा यस्ता भव्य मेला आयोजना गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय बासिन्दाहरूको उत्साह साथ र सहयोगको कारण महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि, व्यापार, बजार विस्तार तथा पर्यटन प्रवर्द्धनमा यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    त्यस्तै, गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले मेला आयोजना हुनु शुद्धोदन क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण कडी साबित हुने उल्लेख गर्दै आर्थिक गतिविधि वृद्धि, स्थानीय उत्पादन प्रवर्द्धन तथा सामाजिक सांस्कृतिक पहिचान संरक्षणमा यसले टेवा पुर्‍याउने धारणा राख्नुभयो। मेला सफलतापूर्वक सम्पन्न गर्न गाउँपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेत, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष केशव प्रसाद अधिकारी, कार्यपालिका सदस्य रुक्मणी थारुले मेला सफलतापूर्वक सम्पन्न गर्न गाउँपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो। मेला उद्घाटन पुर्व बिभिन्न संघ संस्था आमा समुह स्थानिय बासीले झाकी सहित र्‍यालीको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन, कृषि सामग्री, घरेलु तथा साना उद्योग, पर्यटन प्रवर्द्धनका स्टलहरू राखिएको आयोजक संघले जनाएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापारिक प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत रहने भएकाले महोत्सवमा स्थानीयवासी सहित बाहिरी क्षेत्रका आगन्तुकहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
    उद्घाटन कार्यक्रममा शुद्धोदन उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष शोभा आलेले स्वागत गर्नुभएको थियो भने उद्योग वाणिज्य संघका महासचिव विष्णु पंगेनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation