पाल्पा,१७ मंसिर । रामपुर नगरपालिकाले बुधबार ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । रामपुर नगरपालिकाले दिवसको अवसरमा अन्तरक्रिया सहित अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरी दिवस मनाएको हो ।”अपाङ्गता समावेशी समाजको प्रबर्द्धन , सामाजिक उन्नतीको सम्बर्द्धन ” भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाएको हो । दिवसको अवसरमा अपाङ्गता भएका ६ जनालाई परिचय पत्र प्रदान गरिएको छ भने १ जना श्रवण शक्ति कम भएका व्यक्तिलाई श्रवण सहायता सामग्री वितरण गरिएको छ । सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुको सहजता र राहतका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा सास्ती संगै समस्या झेल्नु परेको बताउनुभयो ।अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता पुग्ने कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा अधिकारको पूर्ण प्रत्याभुति हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरुलाई समाज र राष्ट्र सबैले सम्मानजनक व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख थापाले शारिरिक रुपले अशक्त भए पनि उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै सरल जीवनयापनका लागि नगरपालिकाले आर्थिक र भौतिक दुवै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- “म अपाङ्ग छु भनेर आफुलाई कमजोर नसोच्नुस ,उच्च मनोबलका साथ अगाडी बढ्नुस नगरपालिका संधै तपाईहरुको साथामा छ र तपाईहरुलाई सहयोग गर्छौँ ।” उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि नगरपालिकाले अपाङ्गमैत्री भवन निर्माण गरेको र उक्त भवनबाट फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारी संगै निशुल्क आवासको व्यवस्था गरेको बताउनुभयो । साथै नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गर्ने पेशा व्यवसायमा नगरपालिकाले कर छुट दिंदै आएको जानकारी दिनुभयो ।
यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुको सरल जीवनयापन र राहतका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो ।उहाँले अपाङ्गता भएकाहरुको हक अधिकारका लागि विभिन्न सुविधा सहित जीवन उपयोगी सिप तथा तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत युवराज पन्थीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सुनिश्चितता संगै संरक्षणका लागि सबैले ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो ।साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र कानुनी व्यवस्था सम्बन्धी विषयमा सहजिकरण गर्नु भएको थियो ।कार्यक्रमका अवसरमा श्रवण शक्ति कमजोर भएका १ जनालाई श्रवण सहायता सामग्री र ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । जसमध्ये एउटा रातो, २ वटा निलो र ३ वटा पहेँलो अपाङ्गता परिचय पत्र वितरण गरेको हो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको थियो । अपाङ्गता र अभिभावक मैत्री संघ रामपुरको भवन प्राङ्गण रामपुर बेझाँडमा भएको कार्यक्रममा नगर भित्रका फरक क्षमता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।












