तिलोत्तमा, १७मंसिर । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नेत्रहीन महिला संघ नेपालले शनिबार तिलोत्तमामा आयोजित एक कार्यक्रममा “अपाङ्गता समावेशी अनुगमन सूची (Monitoring Checklist)” सार्वजनिक गरेको छ।
स्थानीय तहहरूमा अपाङ्गता समावेशी विकास कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न तयार गरिएको उक्त अनुगमन उपकरणले १९ विषयगत क्षेत्र मार्फत पालिकाको कामको मूल्यांकन गर्न सहयोग गर्नेछ। यी क्षेत्रहरूमा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, न्यायमा पहुँच, पूर्वाधार, रोजगारी, पानी–सफाइ (WASH), विपद् जोखिम न्यूनीकरण, मनोरञ्जन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनी मानकहरूको स्थानीयकरण लगायतका सूचकहरू समेटिएका छन्।
कार्यक्रममा सरोकारवालाबीच अनुगमन उपकरणको आवश्यकता, प्रयोग विधि र स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको थियो। नेत्रहीन महिला संघ नेपालका अनुसार, यस उपकरणले तथ्य–आधारित योजना, उत्तरदायित्व अभिवृद्धि र अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा वितरण सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरूले समावेशी विकास केवल कागजी नीति मात्र नभई नियत, प्रतिबद्धता र निरन्तर अनुगमन मार्फत प्राप्त हुने दिगो परिवर्तन भएको बताएका थिए।
कार्यक्रम तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षता , संस्थाका उपाध्यक्ष शकुन्तला पोख्रेलको सहजीकरण र संस्थाका कर्मचारी लक्ष्मी पाण्डेको व्यवस्थापनमा सम्पन्न भएको थियो ।












