अर्घाखाँची,३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाइ राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) अर्घाखाँची सचिवालयको छैटौं विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विभिन्न नाममा संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चौतर्फी आक्रमण भइरहेको बताउनुभयो ।
उहाँले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।‘अहिले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभन्दा भिन्न गतिविधिहरु भइरहेका छन् । यसले मुलुकलाई फाइदा गर्दैन । कोमामा पुगेको संविधानलाई व्यूत्याउने जिम्मेवारी तपाई हाम्रो काँधमा आएको छ’उहाँले भन्नुभयो– ‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा, संवद्र्धन र राष्ट्रियताको निम्ति फेरि एकपटक जुर्मुराउनुपर्ने बेला आएको छ ।’ मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेन–जीलाई ढाल बनाएर देशी–विदेशी शक्तिहरूको घुसपैठका कारण अराजकता सिर्जना भएको दाबी गर्नुभयो । यस्तै, वर्तमान संघीय सरकारको गैरजिम्मेवार भूमिकाका कारण तोकिएको समयमा चुनाव गराउन नसक्ने स्थिति बनेको टिप्पणी गर्नुभयो ।‘चुनावको मिति घोषणा गर्ने तर त्यसअनुसार तयारी केही नगर्ने । सरकारले नै चुनावको वातावरण धुमिल पार्नेगरी अभिव्यक्तिहरु सार्वजनिक गर्ने गरेको छ । यस्तो अवस्थामा सरकारले नै चुनाव गराउन नचाहेको स्पष्ट हुन्छ,’ उहाँले भन्नुभयो–‘भाग लिनलाई त चुनाव हुनुपर्ने होइन र ?’
आन्दोलनका नाममा मच्चिएको अराजकतालाई लिएर कार्यकर्ताको मनोबल गिर्न नदिन आग्रह गर्दै उहाँले उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन निर्देशन दिनुभयो ।‘उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन जरुरी छ । जनताको बीचमा रहेर नै हामीले काम गर्नुपर्छ,’उहाँले भन्नुभयो–‘जनताको सुख–दुःखमा साथ दिनुहोस् । यही हाम्रो प्रमुख दायित्व हो ।’
बैठक जिल्ला अध्यक्ष पितम्बर भुसालको अध्यक्षता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा पालिका कमिटी र इन्चार्जहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष शम्भुप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाललगायतले सम्बोधन गर्नुभएको थियो । बैठकको सहजीकरण सचिव तोजबहादुर रायमाझीले गर्नुभएको थियो ।












