
बुटवल,१कात्तिक । रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि कार्तिक २२ गते अधिवेशन हुने भएको छ ।
अधिवेशनको असोज ४ गते बसेको कार्यसमितिको बैठकले संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशन कार्तिक २२ गतेका लागि गर्ने निर्णय गरिसकेको र कार्तिक १ गते बसेको कार्यसमितिको बैठकले त्यसको तयारीका लागि कार्यविभाजन गरेको महासचिव हिरामणि भट्टराईले जानकारी दिए ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा बसेको बैठकले साधारण सभा तथा अधिवेशन तयारीका लागि कार्यविभाजन गरेको छ ।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि संघका प्रेस सल्लाहकार रामप्रसाद आचार्यको संयोजकत्वमा दिनेश पाण्डे र हरिश ढकाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । त्यसैगरी साधारण सभामा सदस्य उद्योगीहरुलाई दिइने ब्यागसहितका सामग्री व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, खाद्यान्न व्यवस्थापनका लागि सदस्य चक्रपाणि तिवारी मन्च व्यवस्थापन तथा अतिथि सत्कारका लागि महिला सचिव मन्जु भुसाललाई सयोजनको जिम्मेवारी दिइएको उनले जनाएका छन् ।
अधिवेशनमा प्रस्तुत गरिने वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनका लागि तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जनाए । शनिबारको बैठकमा पूर्वअध्यक्ष तथा सल्लाहकार समिति संयोजक बाबुराम बोहोरा, निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेलले धारणा राखेका थिए । संघमा असार मसान्तसम्म १ हजार ६९ जना उद्योगीले नवीकरण गरेका छन् ।