दाङ,१२ असोज । पश्चिमाञ्चल सोलुसन प्रालिका करिब ३०० कर्मचारी सात महिनादेखि तलब नपाएको भन्दै आन्दोलित भएका छन् ।
वि.सं. २०६७ सालमा दर्ता भई हाल ललितपुरको बागडोलबाट सेवा सञ्चालन गर्दै आएको यस संस्थाले नेपाल टेलिकम, एनसेल, डिसहोम फाइबर नेट र टाटा प्रोजेक्टलगायतसँग काम गर्दै आएको छ ।
कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै एक दशकदेखि दिनरात, घामपानी र चाडपर्व नभनी काम गरे पनि उचित पारिश्रमिक नपाएको गुनासो गरेका छन् । तलबसँगै बिदा भत्ता, बीमा रकम र सामाजिक सुरक्षाकोष समेत रोकिएको छ ।
गत आश्विन ६ गतेभित्र हिसाब मिलाउने र दशैँअघि कम्तीमा एक महिनाको तलब दिने कम्पनीको आश्वासन कार्यान्वयन नभएको कर्मचारीहरुको आरोप छ । उल्टै भाद्र १८ गतेदेखि सबैलाई कामबाट हटाएको भन्दै उनीहरुले श्रम ऐन २०७४ को उल्लंघन भएको दाबी गरेका छन् ।
कर्मचारीहरुले बाँकी करिब ३ करोड रुपैयाँ सात दिनभित्र भुक्तान नगरे दशैँलगत्तै कानुनी कारबाही अघि बढाउने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा दाङ लमही–४ का गुरु प्रसाद कुमाल, देव राज चौधरी, राज कुमार चौधरी, दिवाकर चौधरी, निराज चौधरी, ओम प्रकाश चाैधरी, देवीलाल चाैधरी, दीपक बहादुर रासकाेटी मगर र चन्द्र बहादुर कुमाललगायतका नाम उल्लेख छन् ।












