न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

  • अर्घाखाँची,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गर्नुभएको छ ।

    नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताउनुभएकाे हाे ।`अहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को को उभिनुपर्छ भन्ने देखिनेछ´उहाँले भन्नुभयाे-`न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस् ।´

    आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।`तपाईँ हाम्रा घर सुधार्न जरुरी छ । घर भनेको पहिलो पाठशाला हो । आमा-बुवाले राम्रो ज्ञानगुनका कुरा सिकाउने थलो हो´उहाँले भन्नुभयाे-`के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा सिकाउन जरुरी छ ।´

    मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना गरिएको उल्लेख गर्दै उहाँले यस्ता परिस्थितिको सामना गर्न पार्टीपंक्ति तथा नागरिकस्तरमा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

    नेपालको भूमि लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भन्दै सम्झौता गरेको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र गरी विषम परिस्थिति सिर्जना गरिएको मुख्यमन्त्री आचार्यको दावी छ ।`लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भनेर सम्झौता गरे । त्यसको विरोध नगरी मुखदर्शक बनेर समर्थन गरेर बसेको भए केपी शर्मा ओलीको सरकार पनि अपदस्त हुने थिएन । आज मुलुकमा यस्तो विषम परिस्थिति सिर्जना हुने पनि थिएन । यो कुरा त हामी सबैले पक्कै पनि बुझेका छौँ भन्ने लागेको छ´उहाँले भन्नुभयाे-` सामाजिक सञ्जाल बन्द नभएको भए पनि यो घटना घटाउने थिए । यो तानाबाना अलि पहिला नै बुनिएकाे रहेछ । अब सबै कुरा खुल्दैजानेछन ।´

    सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य एवं मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation