अर्घाखाँचीका आगजनी प्रभावित क्षेत्रको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन

  • अर्घाखाँची,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिकाे स्थलगत अनुगमन गर्नुभएको छ ।

    शनिबार गृहजिल्ला अर्घाखाँची आइपुग्नुभएका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत अनुगमन गर्नुभएको हो । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका कार्यालयमा आगजनी भएको थियो ।

    सरकारी कार्यालयहरूको सेवा प्रवाह तत्काल सुचारु गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले चासोका साथ छलफल गर्नुभएको छ ।`अब सेवा प्रवाह कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । अस्थायी संरचना होस् या त्रिपाल टाँगेर भए पनि जनताको काम गरिनुपर्छ´उहाँले भन्नुभयाे-`सबैसँग समन्वय र सहकार्य गरेर सेवा प्रवाहमा जुट्नै पर्छ ।´

    जेन-जी आन्दोलनका नाममा घुसपैठ भई सरकारी, सामाजिक तथा राजनीतिक संघ-संस्था र व्यक्तिगत संरचनामा क्षति पुर्याउने कार्य भएको र ती घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कानूनी दायरामा ल्याउन सरोकारवाला पक्षले माग गरेका थिए । यस क्रममा मुख्यमन्त्री आचार्यले घटनाको सबै पक्ष र तहबाट सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताउनुभएको थियो ।

    आन्दोलनका क्रममा मुख्यमन्त्री आचार्यको सन्धिखर्कस्थित घरमा समेत आगजनी गरिएको थियाे । जसबाट घरमा पूर्ण क्षति पुगेकाे छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation