संवैधानिक प्रक्रियाबाटै निकास खोजौंः मुख्यमन्त्री आचार्य

  • दाङ, २७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाद्र २३–२४ मा भएको आन्दोलनपछि उत्पन्न संकटको समाधान संवैधानिक प्रक्रियाबाटै खोज्नुपर्ने बताउनुभएको छ ।
    मुख्यमन्त्री आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा वर्तमान विषम परिस्थितिमा मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नागरिक स्वतन्त्रतालाई प्राथमिकतामा राख्दै सबै पक्षले संविधान र कानूनको दायराभित्रै रहँदै संवाद र सहमतिमार्फतै निकास खोज्नुपर्ने उल्लेख गर्नुभएको हो । उहाँले संविधानवाद र विधिको शासनबाट बाहिर जान नहुने धारणा सार्वजनिक गर्नुभएको छ ।
    विज्ञप्तिमा मुख्यमन्त्री आचार्यले आन्दोलनका क्रममा भएको सार्वजनिक, सामुदायिक र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति दुःख व्यक्त गर्दै यस्ता असामाजिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारसँग अनुरोध गर्नुभएको छ ।
    आन्दोलनका क्रममा ज्यान गुमाउने युवा तथा आफ्नो कर्तव्य निर्वाहका क्रममा मृत्यु भएका प्रहरीप्रति उहाँले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै घाइतेहरुका लागि निःशुल्क उपचारको सम्पूर्ण प्रबन्ध मिलाउन नेपाल सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभएको छ ।
    मुख्यमन्त्री आचार्यले जेन–जेड समूहका जायज माग सम्बोधन गर्न आवश्यक रहेको तर त्यो मार्ग लोकतान्त्रिक र संवैधानिक सीमाभित्रै हुनुपर्ने दोहो¥याउनुभएको छ । राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाज सबैलाई संयम, संवाद र एकताको वातावरण सिर्जना गरी रचनात्मक भूमिका निर्वाह गर्न अपिल समेत गर्नुभएको छ ।
    वर्तमान अवस्थामा राष्ट्रिय एकता र स्थायित्व कायम राख्दै दीर्घकालीन समाधान खोज्न राष्ट्रपतिज्यूँले गरिरहेको पहलसमेत महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री आचार्यले सबै पक्ष मिलेर शान्ति, विकास र समृद्धितर्फ अघि बढ्न प्रतिबद्ध हुन आह्वान पनि गर्नुभएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation