
दाङ,२२ भदौ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार साँझी, प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो ।
प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा सभामुख तुलाराम घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै सभामुख घर्तिले सरकारको मेरुदण्ड निजामती सेवा भएको बताउनुभयाे । उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यले नै विकास र समृद्धिको चाहना पूरा गर्न सकिने उल्लेख गर्नुभयो ।`सरकारको मेरुदण्ड निजामती सेवा हो । हामी सबैको सपना विकसित र समृद्ध देश हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय आवश्यक छ´उहाँले भन्नुभयाे-` राजनीतिक नेतृत्वले देखेको सपना र नीति पूरा गर्ने दृढता निजामती सेवाले लिन सक्नुपर्छ ।´
कार्यक्रममा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी र युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको र सहमति र सहकार्यबाट मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभयो । प्रमुख सचिव बाबुराम अधिकारीले निजामती सेवालाई प्रभावकारी, सिर्जनशील र व्यवसायिक बनाउन सके सबैको जीत हुने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले सार्वजनिक प्रशासनलाई अझै सुधार गर्न आवश्यक रहेको बताउँदै विकास, समृद्धि र सुशासनका लागि यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनमा एकरूपता र व्यवस्थितता आवश्यक रहेको र तीन तहमा कार्यरत कर्मचारीबीच भावनात्मक एकता हुनुपर्नेमा जाेड दिनुभयो ।
नेपाल निजामती कर्मचारी यूनियन लुम्बिनीका अध्यक्ष बामदेव शर्माले संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारीको वृत्ति विकासमा अनिश्चितता देखिएको उल्लेख गर्दै तत्काल संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गर्नुभयो ।
उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार
निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार, प्रदेश निजामती सेवा पुरस्कार र कार्यसम्पादनमा उत्कृष्ट ९ जनालाई सम्मान गर्नेगरी नामावली सार्वजनिक गरिएको छ । प्रमुख सचिव तथा पुरस्कार सिफारिस समितिका अध्यक्ष बाबुराम अधिकारीले नामावली सार्वजनिक गर्नुभएको हो ।
उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याललाई प्रदान गरिनेछ ।
त्यसैगरी, उत्कृष्ट निजामती सेवा पुरस्कार वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इञ्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन निरीक्षक मनोजकुमार श्रेष्ठ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत शिवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।
यस्तै, मन्त्रालयबाट सिफारिस भई कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी र स्वास्थ्य मन्त्रालयकी वरिष्ठ पब्लिक हेल्थ नर्स सीता कुवरलाई सम्मान गरिने भएको हो ।संविधान दिवसकाे दिन उक्त सम्मान प्रदान गरिने जनाएको छ ।
मूल समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो भने कर्मचारीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण कानून सचिव लिलाधर सुवेदीले गर्नुभएको थियो ।