प्रदेश राजधानी परिसरलाइ हरियाली बनाइदै, लगाइयो सौन्दर्यपरक बिरुवा

  • दाङ,२१भदौ । लुम्बिनी प्रदेश निजामती सेवा दिवस-२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो ।

    वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगाइएका बिरुवालाई हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

    `म आज ज्यादै खुसी छु । किनभने निजामती सेवा दिवसको सन्दर्भमा आयोजित वृक्षारोपणमा सहभागी हुन पाएँ । यो राजधानी प्रशासनिक परिसरलाई हरियालीमय बनाउन जरुरी छ,´उहाँले भन्नुभयो-`वातावरणलाई सन्तुलन राख्न, अक्सिजन उत्पादन गर्न र सितलता प्रदान गर्न बोटबिरुवाको भूमिका अतुलनीय रहन्छ ।´

    प्रमुख सचिव बावुराम अधिकारीले पनि वृक्षारोपण गरिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । `वृक्षारोपण आफैंमा पवित्र काम हो । यहाँ रोपिएका बिरुवाले पछि फलान, फूलान, सितलता दिन्छन् । चराचुरुङ्गीले पनि वासस्थान पाउँछन्,´ उहाँले भन्नुभयो-`यो महान कार्य हो ।´

    वृक्षारोपण कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको हो । मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार प्रशासनिक परिसरभित्र सौन्दर्यपरक कल्की, पारिजात, राजवृक्ष, गुलमोहर, फलफूल प्रजातिका आँप, अम्बा र अमला रोपिएका छन् । यस्तै, अन्य महत्त्वपूर्ण रक्तचन्दन र सतिसाललगायतका बिरुवाहरू पनि लगाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation