
बुटवल ,१८ भदौ । सेञ्चुरी युवा क्लब, छोम्रुङको आयोजनामा भाद्र १७ गते देखी १० दिने माइक्रो हाइड्रो अपरेटर तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन छोम्रुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष श्री जगन राज गुरुङले गर्नुभएको हो ।
क्लबका सभापति मिकास गुरुङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमलाई विशेष बनाउने गरी संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, तौलुङ र छोम्रुङ आमा समूहका अध्यक्षहरू तथा घट्टेखोला-तेश्रो माइक्रो हाइड्रो योजनाका अध्यक्ष समेतको उपस्थित रहेको थियो।
ओशिन पावर सर्भिस प्रा. लि. बुटवलको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमकाे समन्वय र प्रशिक्षण माधव पौडेलले गर्दैछन।
तालिममा छोम्रुङदेखि माछापुच्छ्रे बेसक्याम्प (MBC) सम्म सञ्चालनमा रहेका ९ वटा माइक्रो हाइड्रो योजनाका २५ जना सहभागीहरूको सक्रिय सहभागिता रहेको छ।
स्थानीय स्तरमै आयोजना गरिएको यो तालिमप्रति सहभागीहरूले क्लबप्रति गहिरो आभार व्यक्त गरेका छन्। ऊर्जा क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा यस्ता तालिमहरू प्रभावकारी हुने अपेक्षा गरिएको छ।