
काठमाडौं,१६ भदौ । दिवंगत लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । आइतबार पशुपति स्थित आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री आचार्यले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । पार्टीका अगुवा नेता-कार्यकर्ता, परिवारका सदस्य, आफन्त तथा स्षटमित्रहरुकाे उपस्थितिमा आर्यघाटमा शाेक सभा समेत गरिएको थियाे ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियाे । उहाँको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाजलाई नै स्तब्ध तुल्याएकाे भन्दै मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यका अनुसार पुनले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँलाई एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधिका रूपमा स्मरण गर्दै उहाँको निधन प्रदेशका लागि अपूरणीय क्षति भएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नु भएको छ ।
पुनकाे केही दिनअघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियाे । पहिलो अपरेशनमार्फत उहाँले छोरीलाई जन्म दिनुभएको थियो भने दोस्रो अपरेशनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उपचार सफल हुन नसकेपछि पुनकाे निधन भएको हाे ।