
दाङ,१५ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुःखी बनेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सभा सदस्यको हैसियतमा पुनले समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति भन्नुभएको छ ।
‘उहाँ सधैँ दुर्गमका जनताको दुःख–पीडा, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा आवाज उठाउदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’श्रद्धाञ्जली वक्तव्यमा उल्लेख छ । पुनको केहीदिन अघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उहाँले छोरीलाई जन्म दिनुभएको थियो भने दोस्रो अपरेशनमार्फत उहाँको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।